पिठ्युमा बोकेर पाथीभरा दर्शनको यात्रा

डिसी नेपाल
१४ असोज २०७६ १०:००

ताप्लेजुङ। भारतको सिक्किमका ६२ वर्षीय नरबहादुर प्रधानलाई सोमबार स्थानीय युगल लिम्बूले पिठ्युमा बोकेर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुर्याए। पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीदेखि झण्डै तीन घण्टाको पैदल दूरीमा पर्ने मन्दिरमा पुर्याएर दर्शन गराई पुनः काफ्लेपाटीसम्म ल्याइदिए।

पाको उमेरका कारण हिमाली क्षेत्रको उकालो बाटो हिँड्न नसक्ने अवस्थाका प्रधानले हिँड्न नसक्दा कसैले बोकेरै मन्दिरमा पुर्याइदिन्छन् भन्ने कल्पनासमेत गरेका थिएनन्।

जब सवारी साधनमा काफ्लेपाटीमा पुगेर ओर्लिएपछि यताउति मान्छे बोक्ने भरिया पहेँलो पोशाकमा देख्दा आफूलाई बोकाएरै मन्दिरमा पुग्ने निधो गरेर युगलको पिठ्युमा चढे। उनी मात्रै होइन, उनीजस्तै हिँड्न नसक्ने वृद्धवृद्धा र बालबालिका पिठ्युमा आफूलाई बोकाएर मन्दिरको दर्शन गरी फर्किने गरेका छन्।

पाथीभरामा अहिले दर्शनार्थीको मात्रै नभई हिँड्न नसक्नेलाई बोकेरै ओहोरदोहोर गराउनेको पनि घुइँचो छ। दशैँका बेला दर्शनार्थीको घुइँचो लाग्ने भएकाले पहेँलो पोशाकसहित स्थानीयवासी दर्शनार्थी बोक्न पाथीभरा क्षेत्रमा खटिएका छन्।

उनीहरुले हिँड्न नसक्नेलाई भाडा लिएर बोकेर लैजाने ल्याउने गर्छन्। दुई वर्षअघि स्थानीय होटल व्यवसायी र सुरक्षा निकायले छलफल गरी हिँड्न नसक्ने यात्रुलाई बोकेर लैजान ल्याउने सकिने गरी व्यवस्थापन मिलाएको थियो।

त्यसअनुसार ३० देखि ६० किलोसम्मका व्यक्तिलाई रु छ हजार, १५ देखि ३० किलोसम्मका व्यक्तिलाई रु तीन हजार र ६० किलोमाथिका व्यक्तिलाई अनुकूल दुवै पक्षको समझदारीअनुरुप भाडा लिई लैजाने ल्याउने गरिएको पाथीभरा क्षेत्र विकास समितिका सदस्य इन्द्रनारायण भट्टराईले बताए।

उनका अनुसार यो सेवा भरपर्दो तथा सुरक्षित बनाउन प्रहरी र होटल व्यवसायीले मिलेर निगरानी गर्ने गर्छन्। जाँदा–आउँदा फेदीमा रहेको प्रहरी चौकीमा समेत रेकर्ड राखिन्छ।

पाथीभरा मन्दिर पुग्न सवारी साधनमा काफ्लेपाटीसम्म र त्यहाँदेखि माथि झण्डै तीन घण्टा बढी समय लाग्ने उकालो बाटो हिँड्नुपर्छ। पाथीभरा मन्दिर तीन हजार ७९४ मिटरको उचाइमा रहेकाले उच्च क्षेत्रको उकालो चढ्न बालबालिका र वृद्धवृद्धालाई सामान्य कठिन हुन्छ।

यसरी उकालो चढ्न कठिनमा पर्ने वृद्धवृद्धा र बालबालिकालाई भाडामा बोकेरै पाथीभरा मन्दिरसम्म लैजाने ल्याउने कार्यका लागि केही वर्ष अघिदेखि नै पाथीभरा मन्दिर क्षेत्रमा भरियाहरु पुग्ने गरेका हुन्। अहिले त्यस क्षेत्रमा दुई सय बढी भरिया छन् । उनीहरु सबैले नम्बरसहितका पहेँलो पोशाक लगाएका छन्।

पाथीभरा मन्दिरमा नौरथा लागेसँगै दर्शनार्थीको घुइँचो छ। वर्षका बाह्रै महीनामा दर्शनार्थी पुग्ने पाथीभरामा विशेषगरी दशैँका बेला सबैभन्दा धेरै दर्शनार्थी पुग्ने गरेका छन्।

वार्षिक चार लाख बढी दर्शनार्थी मन्दिरमा आउने गरेका पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका संरक्षक सदस्य रणबहादुर कार्कीले बताए। नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, दार्जलिङ, आसामलगायतका ठाउँबाट समेत दर्शनार्थी आउने गरेका छन्।

दर्शनार्थीको सङ्ख्या बढ्दै गएपछि सहजरूपले पूजाआजा गर्नका लागि व्यवस्थापन मिलाइएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। दशैँको समयमा दर्शनार्थीको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै मन्दिरमा स्वयंसेवक परिचालन गरिएको छ भने तीनै तहका सुरक्षाकर्मीलाई समेत दर्शनार्थीको सुरक्षाका लागि खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *