तराई-मधेशको घट्ना हिन्दु-मुस्लिमबीचको द्वन्द्व होइन : मौलाना नरुल हुसेन

डिसी नेपाल
१५ साउन २०८३ १८:१२

काठमाडौं। इस्लामी संघ नेपालका अगुवा मौलाना नरुल हुसेनले नेपालमा भएको पछिल्लो घटनालाई धार्मिक दंगाको रूपमा नहेर्न आग्रह गरेका छन्।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले तराई–मधेसमा भएको घटनालाई हिन्दु–मुस्लिमबीचको विवाद नभई गलत तत्वहरूले परिस्थितिको दुरुपयोग गरेको दाबी गरे।

हुसेनले आफू पनि घटनास्थलसँग जोडिएको क्षेत्रमै जन्मे–हुर्केको बताउँदै त्यहाँका समुदायबीच लामो समयदेखि आपसी सद्भाव कायम रहेको उल्लेख गरे।

‘हामी जसरी मिलेर बस्दै आएका थियौँ, भोलि पनि त्यसरी नै बस्ने विश्वास छ। तर यस्तो अवस्था कसरी आयो भन्ने कुरा मैंले अहिलेसम्म बुझ्न सकेको छैन,’ उनले भने।

उनका अनुसार प्रारम्भिक घटना सामान्य विवादबाट सुरु भएको थियो। ‘केटाकेटीबीचको भनाभनलाई लिएर प्रहरीले साम्य पार्न खोजेको थियो। त्यसपछि दुई समूहबीच ठूलो झगडा भएको अवस्था थिएन,’ उनले भने।

उनले प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा गोली चलेको विषयमा निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए। ‘हवाई फायर भएको भनिएको छ। त्यसपछि सशस्त्र प्रहरीले पनि फायर गरेको छ। तर गोली कहाँबाट लाग्यो भन्ने कुरा अनुसन्धानबाट मात्रै स्पष्ट हुन्छ,’ उनले भने।

हुसेनले घटनालाई धार्मिक रंग दिन खोजिएको आरोप लगाए। ‘यो हिन्दु-मुस्लिमबीचको द्वन्द्व होइन। प्रहरी र अर्को समूहबीच भएको घटनालाई बाहिरबाट धार्मिक दंगाको रूपमा प्रस्तुत गर्ने प्रयास भएको छ,’ उनले भने।

उनले यसलाई ‘राष्ट्रलाई कमजोर बनाउने उद्देश्यसहित गरिएको योजनाबद्ध प्रयास’ भएको दाबी गर्दै सबै समुदायलाई संयम अपनाउन आग्रह गरे। ‘धर्मले मानवता, शान्ति, राष्ट्रप्रेम र आत्मशुद्धिको शिक्षा दिन्छ। धर्मको नाम प्रयोग गरेर समाजमा विभाजन ल्याउने काम स्वीकार्य हुन सक्दैन,’ उनले भने।

हुसेनले सबै धर्मका धर्मगुरुहरूलाई समाजमा गएर युवापुस्तालाई शान्ति र सहअस्तित्वको सन्देश दिन आग्रह गरे। ‘हिन्दु, बौद्ध, किरात, क्रिस्चियन र मुस्लिम सबै धर्मगुरुले मठमन्दिर वा मस्जिदमा मात्रै प्रवचन दिने होइन, समाजमा पुगेर नयाँ पुस्तालाई मानवता र सद्भावको शिक्षा दिन आवश्यक छ,’उनले भने।

उनले अभिभावकहरूलाई पनि बालबालिकाका लागि समय निकालेर मानवता, देशप्रेम र सामाजिक जिम्मेवारीबारे शिक्षा दिन आग्रह गरे।

राजनीतिक दलहरूलाई उनले राजनीतिक स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई प्राथमिकता दिन आग्रह गरे। हुसेनले घटनाको पूर्वसूचना र तयारीमा राज्य संयन्त्र चुकेको हुन सक्ने बताए।

‘राजनीतिक प्रतिस्पर्धा गर्नुस्, तर देश, जनता र जनधनलाई बलि बनाएर होइन, यदि समयमै निगरानी भएको भए र अवस्थाबारे जानकारी भएको भए यस्तो घटना रोक्न सकिन्थ्यो,’ उनले भने।

उनले सुरक्षा निकायले बल प्रयोगको सन्तुलन र घटनापछि गरिनुपर्ने कारबाहीमा पनि गम्भीर समीक्षा गर्नुपर्ने बताए। उनले दण्डहीनताको अन्त्य नभएसम्म यस्ता घटना दोहोरिन सक्ने बताए। ‘जसले अपराध गरेको छ, उसलाई समुदाय वा धर्मको आधारमा होइन, अपराधीको रूपमा हेरेर कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भने।

हुसेनले मुस्लिम समुदायलाई लक्षित गरी फैलाइने अफवाहप्रति पनि आपत्ति जनाए। रोहिंग्या समुदायको विषय उठाउँदै उनले शरणार्थी व्यवस्थापन राज्यको जिम्मेवारी भएको बताए।

‘कुनै व्यक्ति बाहिरबाट आएको हो वा होइन, उसलाई बस्न दिने वा नदिने निर्णय सरकारको काम हो। हामी सरकारलाई सहयोग गर्न तयार छौँ,’ उनले भने।

उनले नेपाली नागरिकलाई धर्म वा समुदायका आधारमा विदेशीको रूपमा चित्रण नगर्न आग्रह गरे। ‘नेपालीलाई नेपालीकै नजरले हेरौँ। यदि कोही देशविरोधी गतिविधिमा संलग्न छ भने सरकारले कडा कदम चाल्नुपर्छ,’ उनले भने।

हुसेनले सबै नेपालीलाई शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्न अपिल गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *