निर्मल पुर्जासहितका आरोहीको साहस र योगदानको इतिहास सधैं जीवित रहनेछ: प्रधानमन्त्री बालेन
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्य नेपाली आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको तर उनीहरूले पुर्याएको साहस, समर्पण र योगदानको इतिहास नेपाल र विश्व पर्वतारोहणको क्षेत्रमा सधैँ प्रेरणायुक्त र अमर रहने उल्लेख गरेका छन्।
“आरोहण केवल शिखर चुम्ने यात्रा होइन। यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो,” प्रधानमन्त्री बालेनले लेखेका छन्, “हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ। तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ जीवित रहन्छन्।”
विश्वको १२ औँ अग्लो तथा पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’ हिमालमा आरोहणका क्रममा भएको हिमपहिरोको घटनाले आफूलाई स्तब्ध बनाएको प्रधानमन्त्रीले जनाएका छन्।
प्रधानमन्त्री बालेनले साहसी आरोहीहरूको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति धैर्यधारणको कामनासहित हार्दिक समवेदना व्यक्त गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment