निर्मल पुर्जासहितका आरोहीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, ‘पर्वतारोहण इतिहासमा एउटा स्वर्णिम अध्यायको दुखद् अन्त्य’

डिसी नेपाल
१७ साउन २०८३ १०:५८

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ सहितका साहसी पर्वतारोहीहरूको निधन भएको खबरप्रति नेकपा (एमाले) ले गहिरो दुःख र शोक व्यक्त गरेको छ।

एमालेका महासचिव शंकर पोखरेलद्वारा जारी शोक वक्तव्यमा यस दुखद् घटनाले पार्टी अत्यन्त स्तब्ध र मर्माहत भएको जनाइएको छ।

‘राष्ट्रका अमूल्य धरोहर र साहसी सन्तति’

वक्तव्यमा पर्वतारोहणको क्षेत्रमा ऐतिहासिक कीर्तिमान कायम गर्दै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू ६ महिना ६ दिनमै सफलतापूर्वक आरोहण गरी नेपालको नाम विश्वसामु उच्च राख्न सफल नायक निर्मल पुर्जा र उनका सहयात्रीहरूको असामयिक निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख छ।

एमालेले हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीहरू—निर्मल पुर्जा, पूर्वबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, न्वाङ थिण्डु शेर्पा र ग्यालु शेर्पालाई ‘राष्ट्रका अमूल्य धरोहर’ र ‘साहसी सन्तति’का रूपमा स्मरण गरेको छ। उनीहरूले विश्वलाई साहस, संकल्प र दृढताको नयाँ पाठ सिकाएको पार्टीको भनाइ छ।

शोक सन्तप्त परिवारजनप्रति समवेदना

एमालेले यस घटनालाई नेपालको पर्वतारोहण इतिहासमा एउटा स्वर्णिम अध्यायको दुःखद अन्त्यका रूपमा चित्रण गर्दै दिवङ्गत सम्पूर्ण पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

साथै, शोकको यस कठिन घडीमा आफ्ना प्रियजन गुमाएका शोक सन्तप्त परिवारजन, आफन्त र शुभचिन्तकहरूमा गहिरो समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *