पहिरोको जोखिम बढेपछि बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रात्रिकालीन यातायात बन्द

डिसी नेपाल
१८ साउन २०८३ ६:३४

गण्डकी। भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक तथा बेनी–दरबाङ सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार अत्यधिक वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिले रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। निर्णयअनुसार दुवै दिन साँझ ७:०० बजेदेखि भोलिपल्ट बिहान ५:०० बजेसम्म गाडी चलाउन पाइने छैन।

कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी-जोमसोम सडक मुक्तिनाथ मन्दिर तथा कोरला नाका जाने प्रमुख मार्ग हो। पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी-दरबाङ सडकमा पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै दुई दिनका लागि रात्रिकालीन आवागमन रोकिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिएका छन्। यात्रा गर्दा सतर्कता अपनाउन र आकस्मिक अवस्थाबाहेक रातिको समयमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *