खाना पकाउने ग्यासको आपूर्ति र वितरण व्यवस्थापनमा सहजीकरण गर्दै महानगर प्रहरी

डिसी नेपाल
१९ साउन २०८३ १४:३८

काठमाडौं। काठमाडौं महानगर प्रहरी बलले बजारमा उपलब्ध खाना पकाउने एलपी ग्यास र यसको वितरण प्रणालीलाई सहज बनाउन सक्रियता देखाएको छ।

सर्वसाधारणले लामो समयसम्म ग्यास नपाएको, पहुँच हुनेहरूले मात्र पाएको र विद्यार्थीहरू ग्यासको पहुँचबाट वञ्चित भएको जस्ता व्यापक गुनासा आउन थालेपछि डिपोहरूमा हुने वितरण व्यवस्थापनका लागि महानगर प्रहरी मैदानमा ओर्लिएको हो।

बजारमा उपलब्ध ग्यासको सन्तुलित र न्यायोचित वितरण मिलाउन महानगर प्रहरीले सहजीकरणको भूमिका निर्वाह गर्ने जनाएको छ।

डिपोहरूको अनुगमनका क्रममा पुगेका महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले डिपोमा उपलब्ध ग्यास वितरणमा सबै नागरिकको पहुँच बढाउन सहजीकरण गरिने बताए।

उनले सिलिन्डरको म्याद सकिने मिति, ग्यासको तौल, फायर एक्सटिङ्गुइसरको उपलब्धता र उपयोगिता तथा भण्डारण गरिएको स्थानको सुरक्षा अवस्थाबारे पनि सूक्ष्म निगरानी गरिने जानकारी दिए। जोशीका अनुसार यस्ता सूचकका आधारमा काठमाडौँका चारै क्षेत्रबाट नियमित रूपमा सहजीकरण र अनुगमन गरिनेछ।

सहजीकरण कार्यको सुरुवात गर्दै अनामनगर क्षेत्रमा रहेका डिपोहरूको अवस्था निरीक्षण गरिएको थियो। त्यस क्रममा साना डिपोहरूमा ग्यास उपलब्ध रहेको पाइए पनि ठूला डिपोहरूमा भने ग्यास पाइने आशामा उपभोक्ताहरूको बाक्लो घुइँचो लागेको देखियो।

ग्यासको सुरक्षा, सिलिन्डर भण्डारण र ढुवानीका क्रममा हुनसक्ने जोखिमबारे उपभोक्ता तथा व्यापारीहरूलाई सचेत गराइने प्रहरीले जनाएको छ।

यसैबिच, नेपाल आयल निगमले भने विगतमा जस्तै साबिककै परिमाण र मात्रामा एलपी ग्यास आपूर्ति भइरहेको दाबी गरेको छ। बजारमा माग र आपूर्तिबिच असन्तुलन देखिनुको मुख्य कारण ग्यास अभाव नभई उपभोक्तामा प्यानिक बाइङ (अनावश्यक सञ्चय गर्ने होडबाजी) का कारण माग अत्यधिक बढ्नु रहेको निगमको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *