कैलालीमा दुई यात्रुवाहक बस ठोक्किँदा सात जना घाइते
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१६८ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सात जना घाइते भएका हुन्। घाइतेहरूमा कैलालीका ५० वर्षीया लक्ष्मी शाही, ५३ वर्षीया कृष्णादेवी टमटा, ५५ वर्षीया बासुदेवी टमटा, कालिकोटका ४८ वर्षीय प्रवे बिष्ट, रुकुम पश्चिमकी २१ वर्षीया बिना शाही र उनका एक वर्षीय छोरा लविश चन्द तथा अछामकी २१ वर्षीया निर्मला सञ्ज्याल रहेका छन्।
घाइते सबैलाई उपचारका लागि लम्कीतर्फ पठाइएको प्रहरीले जनाएको छ। अर्को बसमा सवार २७ जना यात्रु भने सकुशल रहेका छन्।
दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको भए पनि सञ्चालनयोग्य अवस्थामा रहेका छन्। सडकमा सवारी आवागमन सामान्य रहेको छ भने प्रहरीले दुवै चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment