नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?

डिसी नेपाल
२१ साउन २०८३ ६:५४

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालको तराई भूभाग नजिक रहेको छ।

हाल देशभर साधारणतया बदली (बादल लागेको) रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी, देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ भने तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *