मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख माछाका भुरा उत्पादन, सात जिल्लाका किसान लाभान्वित

डिसी नेपाल
२२ साउन २०८३ ८:३६

जनकपुरधाम। धनुषास्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा चार करोड ३८ लाख माछाका भुरा उत्पादन गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। केन्द्रले ह्याचलिङदेखि फिङ्गरलिङ र खाने माछासम्म उत्पादन गरी विभिन्न जिल्लाका किसानलाई बिक्री वितरण गरेको जनाएको छ।

केन्द्रका प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार गत आर्थिक वर्षमा चार करोड ३८ लाख ह्याचलिङ, ३२ लाख फ्राइ भुरा, १३ लाख ८२ हजार फिङ्गरलिङ तथा दुई हजार ५३ किलो खाने माछा उत्पादन गरिएको हो। उत्पादन भएका भुरा तथा माछा बिक्रीबाट मात्रै केन्द्रले रु ३४ लाख ३५ हजार ५३६ आम्दानी गरेको छ।

यसका अतिरिक्त सरकारी सम्पत्ति बहालबाट रु तीन लाख २४ हजार ३०० र अन्य प्रशासनिक सेवा प्रवाहबाट रु ५९ हजार राजस्व संकलन भएको केन्द्रले जनाएको छ।

केन्द्रबाट उत्पादन गरिएका माछाका भुरा मधेस प्रदेशका धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका किसानले नियमित रूपमा खरिद गर्दै आएका छन्। त्यसैगरी बागमती प्रदेशका काठमाडौं, सिन्धुली, रामेछाप र दोलखा तथा कोशी प्रदेशको सुनसरीलगायत जिल्लाका किसानसमेत केन्द्रका ग्राहक बनेका छन्।

केन्द्रले हाल रहु, नैनी, भाकुर, कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प र ग्रास कार्प प्रजातिका माछाका भुरा उत्पादन गर्दै आएको छ। यी प्रजातिका भुरा व्यावसायिक मत्स्यपालनका लागि अत्यधिक माग हुने गरेको केन्द्रको भनाइ छ।

तुलनात्मक रूपमा हेर्दा आर्थिक वर्ष २०८१/८२ मा केन्द्रले चार करोड ७५ लाख पाँच हजार ह्याचलिङ, ३२ लाख ३६ हजार फ्राइ भुरा, १२ लाख ६२ हजार फिङ्गरलिङ तथा दुई हजार किलो खाने माछा उत्पादन गरेको थियो। यस वर्ष ह्याचलिङ उत्पादन केही घटे पनि फिङ्गरलिङ र खाने माछाको उत्पादन बढेको देखिएको छ।

उत्पादनसँगै केन्द्रले निजी क्षेत्रका ह्याचरी सञ्चालकलाई नियमित रूपमा तालिम तथा प्राविधिक ज्ञान प्रदान गर्दै आएको छ, जसले व्यावसायिक मत्स्यपालन विस्तारमा टेवा पुगेको विश्वास गरिएको छ।

वि.सं. २०१८ मा स्थापना भएको उक्त केन्द्रमा हाल ७८ वटा माछापोखरी रहेका छन्। तीमध्ये १९ वटा पोखरी प्रयोगविहीन अवस्थामा रहेको जनाइएको छ। ती पोखरीलाई पुनः सञ्चालनमा ल्याउन सके उत्पादन क्षमता अझै वृद्धि हुने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *