बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीन पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
नेपालगन्ज (बाँके)। यहाँस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले तत्कालीन प्रमुख कार्यकारी अधिकृत शाह, श्रीमती शुभेच्क्षा श्रेष्ठ तथा बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई पक्राउ गरिएको जानकारी दिइन्।
उहाँका अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्तमाथि बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धान हुनेछ। पक्राउ परेका तीनै जनालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बैंकबाट ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा आन्तरिक प्रक्रिया पालना नगरिएको, नक्कली वा कमजोर धितोका आधारमा ऋण स्वीकृत गरिएको तथा धितो मूल्याङ्कन र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि भएको भनी अनुसन्धान अघि बढाइएको थियो।
यसअघि नै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा रु तीन अर्ब २० करोडभन्दा बढी रकम अपचलन भएको दाबी गर्दै मुद्दा दायर गरिएको छ।
उक्त मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइएको छ। हालसम्म केही प्रतिवादी पक्राउ परिसकेका छन् भने अधिकांश अझै फरार छन्। अनुसन्धानको दायरामा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरी तथा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलगायतका व्यक्ति पनि रहेका छन्।
बैंकको वित्तीय अवस्था निरन्तर कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो। उक्त घटनाले बैंकिङ क्षेत्रको आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन र नियामकीय निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment