परिवर्तन नेपाल अभियान पोखरा र इनोभा अस्पतालबीच सम्झौता: स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट

डिसी नेपाल
२२ साउन २०८३ १७:५०

काठमाडौं। आम नागरिकलाई गुणस्तरीय तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ परिवर्तन नेपाल अभियान पोखरा र लाजिम्पाटस्थित इनोभा अस्पताल प्रा.लि. बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै गरिएको यस सम्झौता अनुसार परिवर्तन नेपाल अभियानका सदस्य, कर्मचारी, सिफारिस प्राप्त व्यक्ति तथा सम्बन्धित लाभग्राहीहरूले इनोभा अस्पतालका विभिन्न सेवाहरूमा २५ प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौता अनुसार लाभग्राहीहरूले ल्याब परीक्षण, डायग्नोस्टिक सेवा तथा ‘वेलनेस एवं प्रिभेन्टिभ’ स्वास्थ्य परीक्षण प्याकेजमा २५ प्रतिशत छुट प्राप्त गर्नेछन्। त्यसैगरी रेडियोलोजी सेवा (एक्स-रे, अल्ट्रासाउन्ड आदि), भर्ना  तथा बेड शुल्कमा २० प्रतिशत, ओपीडी परामर्श सेवामा १५ देखि २० प्रतिशत र औषधि खरिदमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

यस सहुलियतको लाभ लिनका लागि लाभग्राहीले परिवर्तन नेपाल अभियानबाट जारी गरिएको सिफारिस पत्र वा सम्बन्धित परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। प्रारम्भिक चरणमा यो सम्झौता एक वर्षका लागि लागू रहने र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने बताइएको छ।

समझदारीपत्रमा इनोभा अस्पतालका तर्फबाट चिफ अफ फाइनान्स नवराज रेग्मी र परिवर्तन नेपाल अभियान पोखराका तर्फबाट अध्यक्ष सरस्वती पुरीले हस्ताक्षर गर्नुभएको हो। यस सहकार्यले विशेष गरी आर्थिक रूपमा विपन्न तथा सर्वसाधारण नागरिकलाई सहज र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास व्यक्त गरिएको छ। आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा यस्ता सहकार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता अभियानले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *