गगन थापालाई मोहन बस्नेतको चेतावनी- मैले अन्तर्घात होइन, खुला घात गरेको हुँ

डिसी नेपाल
२३ साउन २०८३ १९:४०

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले गत फागुन २१ गतेको निर्वाचनमा आफूले पार्टीभित्र ‘अन्तर्घात’ नगरी खुला रूपमा ‘घात’ गरेको स्वीकार गरेका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले पार्टी नेतृत्व तथा गगन थापाप्रति कडा असन्तुष्टि व्यक्त गरे। निर्वाचनमा पार्टीलाई सहयोग नगरेको विषयलाई चुनाव लगत्तैदेखि नै स्पष्ट रूपमा भन्दै आएको दाबी गर्दै उनले भने, “मेरा साथीभाइ सबैले सहयोग गरेकै हुन्। मैले केको अन्तर्घात गर्नु? मैले त खुल्लै घात गरेको हो।”

पुराना नेताहरूको अनुहार हेरेर मत नआउने भन्ने नेतृत्वको धारणाका कारण आफूले सहयोग नगरेको बस्नेतको भनाइ थियो। पार्टीमा दशकौँ योगदान दिएका स्थापित र पुराना नेताहरूलाई पाखा लगाउने र टिकट नदिने परिस्थिति सिर्जना गरिएको भन्दै उनले आक्रोश पोखे।

सम्बोधनका क्रममा बस्नेतले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले विगतमा बहुमत हासिल गरेको स्मरण गराउँदै वर्तमान नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए। “आफू कहिल्यै नहार्ने शेरबहादुर देउवाले कांग्रेसलाई बहुमतै बहुमत बनाएर राख्नुभयो। उहाँको अनुहारले काम नहुने रे! अनि गगन थापाको तर्साउने अनुहारले भोट आउने?” उनले प्रश्न गरे।

पार्टीभित्र विशेष महाधिवेशन र आन्तरिक गुटबन्दी तीव्र बनिरहेका बेला टेरामक्स भ्रष्टाचार प्रकरण लगायतका छानबिनमा समेत गगन थापाको हात रहेको आरोप बस्नेतले लगाउँदै आएका छन्। बाह्रबिसेको कार्यक्रममा उनले पुराना नेताहरूको अपमान गरेर नयाँ नेतृत्वले पार्टी सञ्चालन गर्न खोजेको भन्दै अनुहारकै कारण मत नआउने भनिएपछि आफूले चुनावमा सहयोग नगरेको अडान दोहोर्‍याए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *