म्याग्दीमा सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति: एक बेपत्ता, एक घाइते
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान सुक्खा पहिरो खस्दा एक जना कामदार बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार विद्युत्गृहभन्दा माथिल्लो पहाडबाट ढुङ्गासहित खसेको पहिरोमा पुरिएर अन्नपूर्ण-६ का ५५ वर्षीय कामदार दीपक बरुवाल बेपत्ता भएका छन्। दुर्घटनामा गौरीगंगा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्।
बेपत्ता बरुवालको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ। पहिरोबाट घाइते अवस्थामा उद्धार गरिएका विकलाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको यस आयोजनाको विद्युत्गृहमा पहिरोले पुर्याएको क्षतिपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने उपकरणहरूमा ठूलो क्षति पुगेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment