राष्ट्रियसभा र सात संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

डिसी नेपाल
२७ साउन २०८३ ६:२६

काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रियसभा र विभिन्न सात वटा विषयगत समितिको बैठक आज बस्दैछ।

सिंहदरबारमा अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ।

बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन्। यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी, आज संसद्का सात वटा विषयगत समितिको बैठक पनि विभिन्न महत्त्वपूर्ण एजेण्डामा केन्द्रित हुनेछन्। बिहान ११:०० बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, देखिएका चुनौती र सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह र वृद्धाश्रमलगायतका सामाजिक संस्थाहरूको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल हुँदैछ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ।

अपराह्न १:०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसम्बद्ध उजुरीहरूमाथि छलफल हुनेछ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने विगतका कोप सम्मेलनमा भएका निर्णय र सम्झौताको कार्यान्वयन अवस्थाका साथै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३१) मा नेपालको सहभागिता र तयारीका बारेमा सम्बद्ध सरकारी अधिकारीहरूसँग जानकारी लिइने कार्यसूची छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *