अल्पमतमा परेपछि मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक, राजीनामा दिने तयारी

डिसी नेपाल
२७ साउन २०८३ ९:२१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन्। मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले बुधबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्।

प्रदेश सरकार अल्पमतमा परेपछि अबको राजनीतिक कदमबारे निर्णय गर्न बैठक बोलाइएको नेपाली कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काले जानकारी दिइन्। उनका अनुसार बैठकमा मुख्यमन्त्री शाहले राजीनामा दिने विषयमा छलफल हुनेछ।

बजेट निर्माण तथा कार्यान्वयनको विषयलाई लिएर विवाद बढेपछि मुख्यमन्त्री शाहले गत ३१ असारमा नेकपा एमालेबाट सरकारमा सहभागी चार मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए। त्यसलगत्तै एमालेले शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह स्पष्ट रूपमा अल्पमतमा परेका थिए। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता भएको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भए पनि शाहले त्यसतर्फ अघि नबढी सरकारबाट राजीनामा दिने तयारी गरेका हुन्।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको २९औँ दिनमा शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका हुन्। खड्काका अनुसार शाहले प्रदेश प्रमुखलाई सोझै राजीनामा दिने वा प्रदेशसभामा सम्बोधन गरेर राजीनामा घोषणा गरी त्यसपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने भन्ने विषयमा पनि बैठकमा परामर्श हुनेछ।

खड्काले एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस सरकार अल्पमतमा परेको विषय स्पष्ट रहेको बताइन्। नेकपा र एमालेबीच केन्द्रमा सत्ता सहकार्यको सहमति भइसकेकाले सुदूरपश्चिममा पनि नयाँ राजनीतिक समीकरण बन्ने अवस्था देखिएपछि शाहले राजीनामा दिने तयारी गरेको उनको भनाइ छ।

मुख्यमन्त्री शाहले आफ्नो सरकार जोगाउन नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को समर्थन जुटाउने प्रयास गरेका थिए। तर केन्द्रमा नेकपा र एमालेबीच सत्ता सहकार्यको सहमति भएपछि उनको प्रयास सफल हुन सकेन।

शाह यसअघि २६ माघ २०७९ मा पहिलोपटक सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए। राजनीतिक समीकरण परिवर्तन भएपछि उनले २२ चैत २०८० मा राजीनामा दिएका थिए। त्यसपछि एमालेको समर्थनमा उनी २० साउन २०८१ मा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

अब खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी

मुख्यमन्त्री शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। केन्द्रमा नेकपा र एमालेबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपाका नेता खगराज भट्टलाई अघि सार्ने तयारी गरिएको छ।

शाहको राजीनामापछि प्रदेश प्रमुख नजिर मियाँले संविधानअनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। त्यसपछि एमालेको समर्थनमा भट्टको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरिएको नेताहरूले बताएका छन्।

मुख्यमन्त्रीको विषयलाई लिएर नेकपाभित्र यसअघि मतभिन्नता देखिएको थियो। पार्टीभित्रै केही सांसदले खगराज भट्टलाई मुख्यमन्त्री बनाउन नहुने भन्दै लबिङसमेत गरेका थिए। तर अहिले पार्टी केन्द्रको पहलमा विवाद समाधान भइसकेको र भट्टलाई नै मुख्यमन्त्रीका रूपमा अघि सार्ने सहमति भएको दाबी गरिएको छ।

नेकपाका एक सांसदका अनुसार मुख्यमन्त्री को बन्ने भन्ने विषयमा अब विवाद नरहेको र खगराज भट्टलाई नै अघि सार्ने सहमति भइसकेको छ। यद्यपि, मन्त्री छनोटको विषयमा भने अझै विवाद कायमै रहेको उनको भनाइ छ।

उनका अनुसार सम्भव भएसम्म संसदीय दलबाटै मन्त्री चयनको निर्णय गरिनेछ। त्यसो हुन नसके पार्टी केन्द्रको निर्णयअनुसार मन्त्री चयन हुने सम्भावना छ।

मन्त्री चयनमा देखियो सकस

नयाँ सरकार गठनको तयारीसँगै नेकपा र एमालेभित्र मन्त्री बन्ने आकांक्षीहरूको दौडधुपसमेत सुरु भएको छ। भट्ट नेतृत्वको सरकारमा एमालेका तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा भने अहिलेसम्म औपचारिक निर्णय भइसकेको छैन।

एमालेका एक सांसदले मन्त्री छनोटका विषयमा पार्टीभित्र अहिलेसम्म ठोस छलफल नभएको बताएका छन्। पार्टी नेतृत्वबाट स्पष्ट निर्देशन आएपछि मात्र मन्त्रीको टुंगो लाग्ने उनको भनाइ छ।

सुदूरपश्चिममा मन्त्री छनोटको विषय नेकपाभित्र अझ जटिल बन्ने देखिएको छ। तत्कालीन माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीबाट आएका नेताहरूलाई सरकारमा कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती नेकपाको नेतृत्वसामु रहेको छ।

यसअघि विभिन्न राजनीतिक दल र समूहबाट आएका सांसदहरूको प्रतिनिधित्व मिलाउनुपर्ने भएकाले मन्त्रालय बाँडफाँट र मन्त्री छनोटमा सहमति जुटाउन समय लाग्न सक्ने नेताहरू बताउँछन्।

यससँगै मुख्यमन्त्री शाहको राजीनामा र खगराज भट्टको नेतृत्वमा बन्ने सम्भावित नयाँ सरकारलाई सुदूरपश्चिमको बदलिँदो राजनीतिक समीकरणको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *