कांग्रेस राष्ट्रिय भेला अघिको दौडधुप: शशांक र पूर्णबहादुर खड्काबीच गल्फुटारमा संवाद
काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला र पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान खड्का निवास गल्फुटार पुगेर डा. कोइरालाले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंको सुकेधारामा आयोजना हुन लागेको राष्ट्रिय भेलाका विषयमा गहन छलफल गर्दै खड्कालाई भेलामा सहभागी हुन औपचारिक निमन्त्रणा दिएका हुन्।
भेटवार्तामा पूर्वसभापति शेरबहादुर देउवानिकट मानिने नेता एनपी साउदसमेत सहभागी थिए। कोइरालाको सचिवालयका अनुसार भेटमा राष्ट्रिय भेलाको तयारी, पार्टीको आन्तरिक अवस्था तथा वैचारिक-संगठनात्मक रणनीतिबारे संवाद भएको थियो । डा. कोइरालाले राखेको प्रस्ताव र आग्रहप्रति पूर्वउपसभापति खड्काले सकारात्मक धारणा व्यक्त गरेका छन् ।
पछिल्लो समय डा. शशांक कोइरालालाई ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समितिको संयोजक तोकिएपछि पूर्वकार्यवाहक सभापति खड्का चुनदेवीस्थित सम्पर्क कार्यालयका गतिविधिमा अनुपस्थित रहँदै आएका थिए।
खड्काको यो निष्क्रियतालाई लिएर विभिन्न राजनीतिक अड्कलबाजी भइरहेका बेला संयोजक कोइराला आफैं निवासमै पुगेर संवाद गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि, पार्टीको आन्तरिक विवाद र नेतृत्व सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि खड्काले पार्टी एकताको ढोका खुलेको प्रतिक्रिया दिएका थिए। भेलामा पूर्वसभापति देउवाले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
संस्थापन इतर पक्षले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा बृहत् राष्ट्रिय भेला आह्वान गरेको छ। भेलाको पूर्वसन्ध्यामा पार्टीभित्रका अग्रज तथा प्रभावशाली नेताहरूलाई गोलबद्ध गराउन संयोजक डा. कोइरालाले दौडधुप तीव्र बनाएका छन्।
मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सङ्गठनका दृष्टिले एकताबद्ध बनाउन यो भेला कोशेढुंगा सावित हुने दाबी संयोजक कोइरालाको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment