लुम्बिनी सरकार गठन र विकास निर्माणमा सहकार्य गर्न एमाले, नेकपा र मसालबीच २ बुँदे सहमति

डिसी नेपाल
२७ साउन २०८३ १४:४४

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच लुम्बिनी प्रदेश सरकार गठन तथा विकास निर्माणका कार्यहरूमा सहकार्य गर्ने सहमति भएको छ।

तीन दलका शीर्ष नेताहरूबीच बुधबार भएको छलफलपछि दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार लुम्बिनी प्रदेश सरकार गठन र प्रदेशभित्र सञ्चालन हुने विभिन्न विकास निर्माणका कार्यहरूमा तीनै दलले आपसमा समन्वय र सहकार्य गर्नेछन्।

यसैगरी, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षाका साथै प्रतिगमनका विरुद्ध हुने आन्दोलनहरूमा समेत संयुक्त रूपमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ।

सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

नेपाली कांग्रेसले गत साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानबमोजिम आचार्यले त्यसको तयारी गरेका हुन्।

नेकपा एमाले र नेकपाबीच भएको नयाँ सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ।

८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमत कायम गर्नका लागि ४२ जना सांसदको समर्थन आवश्यक पर्छ। हाल प्रदेश सभामा एमालेका २९ र नेकपाका (सभामुखसहित) १३ जना सांसद रहेका छन्। सभामुखले मताधिकार प्रयोग गर्न नपाउने भएकाले मुख्यमन्त्री आचार्यलाई बहुमत सिद्ध गर्न थप दलहरूको समर्थन जुटाउनुपर्ने बाध्यता रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *