सिँचाइ अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगतिको अनुगमन गर्न विशेष संयन्त्र निर्माण

डिसी नेपाल
२७ साउन २०८३ १८:३३

काठमाडौं। जलस्रोत तथा सिँचाइ विभागले राष्ट्रिय गौरवका आयोजना तथा विभाग अन्तर्गत सञ्चालित अन्य आयोजनाको भौतिक र आर्थिक प्रगतिको प्रभावकारी अनुगमन गर्न विशेष संयन्त्र बनाएको छ।

लामो समयदेखि सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाले लक्षित प्रगति हासिल गर्न नसकेको, निर्धारित समयावधि नाघेको तथा निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न विभागले सो संयन्त्र निर्माण गरेको हो।

यसमार्फत आयोजनाको स्थलगत प्रगति, भौतिक तथा आर्थिक अवस्था, निर्माणको समय तालिका, प्रमुख समस्या र समाधानका लागि चालिएको कदमको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विभागबाट नियमित अनुगमन तथा समन्वय हुनेछ। समस्याको पहिचान गरी जिम्मेवार निकाय तोक्ने, समाधानको समयसीमा निर्धारण गर्ने र त्यसको फलोअप गर्ने प्रणालीसमेत विकास गरिने विभागले जनाएको छ।

यसै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको प्रगति, आगामी कार्ययोजना तयार गर्न आगामी साता सबै आयोजना प्रमुखहरुसँग बैठकसमेत बोलाएका छन्। प्रारम्भिक चरणमा विभागअन्तर्गतको महाकाली (तेस्रो) सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना तथा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई प्राथमिकतामा राखेर अनुगमन गर्ने योजना रहेको छ।

ती आयोजनाको प्रगति विवरण संकलन गर्ने संयन्त्रका रूपमा मात्र नभई समस्या पहिचान, तत्काल कार्य, जिम्मेवारी निर्धारण र परिणामको फलोअप गर्ने नतिजामुखी प्रणालीका रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।

यसबाट लामो समयदेखि अघि बढिरहेका राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समय, लागत र गुणस्तरभित्र सम्पन्न गर्न थप जवाफदेहिता सिर्जना हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गतका मुख्य–मुख्य संरचनाको निर्माणस्थल तथा आयोजना कार्यालयबाट प्राप्त विवरणलाई विभागबाट सिधैं अनुगमन प्रणालीमा समेटी नियमित समीक्षा गर्ने तयारी गरिएको विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *