राष्ट्रियसभाको बैठक आज बस्दै, आन्तरिक वायुसेवासम्बन्धी विधेयक पेस हुने

डिसी नेपाल
२८ साउन २०८३ ७:०१

काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारमा बस्दै छ। आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

यसैबीच, संघीय संसद् सचिवालयका अनुसार आज विभिन्न पाँचवटा विषयगत संसदीय समितिका बैठकहरू पनि बस्दै छन्। अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्न लागेको हो।

बिहान ९:३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनहरूमाथि छलफल हुने कार्यक्रम छ। यस्तै, बिहान १०:०० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेका संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।

पूर्वाधार विकास समितिको बैठक पनि बिहान १०:०० बजे नै बस्दै छ, जसमा खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल हुनेछ।

यसैगरी, बिहान ११:०० बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता’ सम्बन्धमा छलफल हुनेछ। सोही समय (बिहान ११:०० बजे) तय भएको महिला तथा सामाजिक विकास समितिको बैठकमा ‘राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगति’ का विषयमा समीक्षा र छलफल हुने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *