रोल्पाको थबाङमा पहिरो: घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु, १० बेपत्ता
रोल्पा। रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर ५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। घटनामा परी अन्य दुई जना घाइते भएका छन्।
बुधबार राति करिब ८:४० बजे गएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठहरू पूर्ण रूपमा पुरिएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार बाखुका अनुसार माटो र हिलोमा पुरिएको अवस्थामा ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरलाई मृत फेला पारिएको छ। त्यसैगरी, स्थानीयवासीहरूको समेत सहयोगमा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगरको जीवितै उद्धार गरिएको छ। घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
घटनाबारे राति ९:३० बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको थियो। थप उद्धार कार्यलाई तिब्र बनाउन बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट डीएसपी पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित १३ जनाको विशेष प्रहरी टोली घटनास्थल पुगेको छ। यसैगरी, बिहीबार बिहान ४:३० बजे नै रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत घटनास्थल पुगेर उद्धार कार्यको नेतृत्व गरिरहेका छन्।
प्रारम्भिक विवरणअनुसार पहिरोमा परि बेपत्ता हुनेहरूको संख्या १० पुगेको छ। तर, घटनास्थलमा फोन सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएका कारण उद्धार र क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको छ। हाल घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा खोजी तथा उद्धार कार्य तिब्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment