जनताका अपेक्षा पूरा गर्न सीमित स्रोतसाधनकाबीच सरकार क्रियाशील छ: अर्थमन्त्री डा. वाग्ले

डिसी नेपाल
२८ साउन २०८३ १३:३६

तनहुँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। तनहुँको व्यास नगरपालिका-१० दुम्सीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले सीमित स्रोतसाधनका बिच पनि जनताका अपेक्षा सम्बोधन गर्न सरकार निरन्तर क्रियाशील रहेको जानकारी दिए।

कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले भने, “बजेटका निश्चित सीमाहरू छन्, रकम सीमित छ तर जनताका अपेक्षा धेरै छन्।

जुन बस्तीमा पुगे पनि खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन र खेलमैदानका मागहरू आउने गर्छन्। सरकारले उपलब्ध स्रोतले भ्याएसम्म तिनलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ।”

तनहुँको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले यस पटकको बजेट वितरणलाई न्यायोचित र सन्तुलित बनाउन विशेष पहल गरिएको बताए। तनहुँका जनताले आफूलाई दुई पटक प्रतिनिधिसभा सदस्यमा विजयी गराएको स्मरण गर्दै उनले जिल्लावासीले लगाएको यो गुन र विश्वास कहिल्यै नबिर्सिने उल्लेख गरे।

भेटघाटका क्रममा स्थानीयवासीले दुम्सीका करिब ५०० घरधुरीमा खानेपानीको गम्भीर समस्या रहेको विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

जवाफमा उनले दुम्सीमा खानेपानी तथा तटबन्धनको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरूसँग आवश्यक समन्वय गरी यथाशीघ्र काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *