पत्रकार किशोर श्रेष्ठको निवास र मिडिया कार्यालयमा भएको छापाप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण
काठमाडौं। आस्था मिडियाका अध्यक्ष तथा ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको निजी निवास खानतलासी हुनुका साथै सञ्चार माध्यमको कार्यालयबाट कम्प्युटर लगायतका सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा बुधबार राति सम्पादक श्रेष्ठलाई पक्राउ गरिएको, उनको निवास खानतलासी गरिएको र बिहीबार बिहान हतियारसहित प्रहरी प्रवेश गरी सञ्चार माध्यमको कार्यालयबाट कम्प्युटर सामग्री जफत गरिएको घटनाबारे उल्लेख छ।
नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सम्बद्ध सबैको कर्तव्य हुने विज्ञप्तिमा स्मरण गराइएको छ। काउन्सिलले कुनै समाचारको विषयमा चित्त नबुझेमा कानुनी बाटो अपनाउँदै काउन्सिलमै उजुरी दिन सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ।
यसैगरी, काउन्सिलले सञ्चारकर्मीहरूलाई पनि प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिनेतर्फ सचेत गराएको छ। सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताको माध्यमबाट पेसागत मर्यादा जोगाउनुपर्नेमा जोड दिँदै काउन्सिलले पत्रकार र सञ्चार माध्यमको निरन्तर अनुगमन गरिरहेको स्पष्ट पारेको छ।
प्रेस काउन्सिल ऐन, २०४८ अनुसार आचारसंहिता उल्लङ्घन भएमा उजुरी लिने, छानबिन गर्ने, खण्डन गराउने वा लोककल्याणकारी विज्ञापन रोक्नेसम्मका कानुनी प्रक्रियाहरू विद्यमान रहेको उल्लेख गर्दै काउन्सिलले न्यायिक प्रक्रिया र मर्यादाको पालना गर्न सबैलाई आह्वान गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment