देउवालाई अभिभावक बन्न सुजाताको सुझाव: गगन थापाले सफल नेतृत्व प्रमाणित गरिसके

डिसी नेपाल
२९ साउन २०८३ १३:५८

काठमाडौं। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागी मूल प्रवाहमा समाहित भएर पार्टी एकताको पक्षमा उभिन जोडदार आग्रह गरेकी छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेत्री कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्न र त्याग देखाउन सुझाव दिएकी हुन्।

राष्ट्रप्रतिको जिम्मेवारीबोध गर्दै पद र गुटभन्दा माथि उठ्न आह्वान गरेकी उनले सभापति गगनकुमार थापा सबै पक्षप्रति लचिलो र जिम्मेवार रूपमा प्रस्तुत भइरहेको भन्दै उनको नेतृत्व शैलीको खुलेर प्रशंसा गरिन्।

बैठकमा आफ्ना पिता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै नेत्री कोइरालाले भनिन्, “गिरिजाबाबुले सधैँ भन्नुहुन्थ्यो- कांग्रेस जब-जब बलियो र लोकप्रिय हुन्छ, तब-तब यसका विरुद्ध अनेक षड्यन्त्रहरू सुरु हुन्छन्। आज ठीक त्यस्तै अवस्था देखिएको छ।” उनले बाह्य तथा आन्तरिक षड्यन्त्रका बाबजुद वर्तमान सभापति गगन थापाले पार्टीलाई अत्यन्तै कुशल र परिपक्व ढङ्गले अगाडि बढाइरहेको बताइन्।

सुरुवाती दिनमा गगन थापाले पार्टी कसरी हाँक्लान् भन्नेमा आफूलाई केही चिन्ता लागेको स्मरण गर्दै उनले अहिले थापाले आफ्नो कार्यक्षमता र व्यवहारबाटै सफल नेतृत्व प्रमाणित गरिसकेको स्पष्ट पारिन्।

गगन थापाको सभापतित्वपछि पार्टीमा नयाँ पुस्ता र युवाहरूको व्यापक आकर्षण बढेको दाबी गर्दै उनले थपिन्, “अबको पाँच वर्षपछि हुने आम निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउनेछ; साथै सातै प्रदेश र स्थानीय तहहरूमा समेत कांग्रेसकै वर्चस्व र बहुमत कायम हुनेमा म पूर्ण विश्वस्त छु।”

इतर समूहका नेताहरूलाई लक्षित गर्दै उनले समयको पदचाप बुझ्न र विग्रहको बाटो त्यागेर पार्टी सुदृढीकरणमा लाग्न अनुरोध गरिन्। पद र प्रतिष्ठाको व्यक्तिगत टकरावले कसैको हित नगर्ने स्पष्ट पार्दै उनले वैधानिक नेतृत्वलाई साथ दिएर पार्टीलाई थप एकताबद्ध, जुझारु र जनप्रिय बनाउन सबै तहका नेता-कार्यकर्ताहरूलाई आह्वानसमेत गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *