इन्डोनेसिया भूकम्पमा कम्तीमा २० जनाको मृत्यु, उद्धार कार्य जारी
काठमाडौं । पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ भने हजारौँ मानिसहरू ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएका छन्। शनिबार उद्धारकर्मीहरूले भग्नावशेषमुनि जीवित रहेकाहरूको खोजी कार्य जारी राखेका छन्।
विपत्तिको वास्तविक क्षति बाहिर आउने क्रमसँगै उद्धार अधिकारी फथुर रहमानले एएफपीलाई दिएको जानकारीअनुसार पर्यटकहरूमाझ निकै लोकप्रिय मानिने सो टापुका चार फरक-फरक सहरबाट कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
सबैभन्दा बढी प्रभावित नागेकेओ जिल्लातर्फ डुङ्गाबाट जाँदै गर्दा रहमानले टेलिफोनमा भने, ‘हामीलाई प्राप्त रिपोर्टअनुसार २० जनाको मृत्यु भएको छ, ६ जना घाइते छन् र दुई जना अझै पुरिएका छन्।’
७.७ म्याग्निच्युडको धक्कापछि छिमेकी मङ्गराई जिल्लामा दुई जना मानिस भग्नावशेषमुनि जीवितै फसेको थाहा भएको छ।
“हाम्रो मुख्य ध्यान भग्नावशेषमुनि पुरिएका पीडितहरूको पहिचान र उद्धारमा केन्द्रित रहनेछ,” रहमानले भने। उनले ठाउँ-ठाउँमा गएको पहिरोले सडक मार्ग अवरुद्ध गर्दा उद्धार कार्य कठिन बनेको थपे।
भूकम्पको केन्द्रविन्दुनजिकै रहेको नागेकेओका बासिन्दाहरू शनिबार बिहानै समुद्रको पानी पछाडि हट्न थालेपछि डाँडा र उच्च भूभागतर्फ भागेका थिए। एएफपीका पत्रकारहरूका अनुसार यो सुनामी आउनुअघिको सम्भावित सङ्केत थियो।
पछिल्लो समय सुनामीको चेतावनी भने हटाइएको छ, तर पराकम्पनका कारण भत्किन सक्ने भएकाले मानिसहरूलाई क्षतिग्रस्त भवनहरूमा नफर्कन चेतावनी दिइएको छ।
भूकम्पपछि दर्जानौँ पराकम्पनहरू महसुस भइसकेका छन्, जसमा सबैभन्दा शक्तिशाली ६.१ म्याग्निच्युडको मापन गरिएको छ।
नागेकेओका ५६ वर्षीय बासिन्दा योहानेस बाबोलले बिहानै बजारमा रहेका बेला जमिन बेसरी हलिन थालेको बताए।
“कम्पन निकै कडा थियो। भाग्यवश, हामी त्यो समय घरबाहिरै थियौँ,” उनले एएफपीलाई भने, “मानिसहरू आत्तिएर यताउता भागिरहेका थिए। हामी हालका लागि डाँडातर्फ स्थानान्तरण भइरहेका छौँ। मेरो परिवार सुरक्षित छ, कसैलाई चोटपटक लागेको छैन।”
अमेरिकी तथा इन्डोनेसियाली अधिकारीहरूका अनुसार कम गहिराइमा गएको यस भूकम्पको केन्द्रविन्दु तटीय सहर एन्डे बाट करिब ६८ किलोमिटर उत्तर-पश्चिममा टापुको उत्तरी तट नजिकै रहेको थियो।
मौमरे बन्दरगाहमा आंशिक रूपमा भत्किएको एउटा भवनको भग्नावशेषबाट उद्धारकर्मीहरूले एक जनाको शव निकालेका छन्।
एजेन्सीले सार्वजनिक गरेको भिडियो फुटेजअनुसार भग्नावशेषबाट दुई जनालाई जीवितै उद्धार गरिएको र एक जनाको शव फेला परेको रहमानले बताए।
भूकम्पबाट भएको कुल क्षतिको विवरण अझै सङ्कलन भइरहेको छ।
जकार्ताबाट करिब २,५०० किलोमिटर पूर्वमा रहेको मौमरेका बासिन्दा लुकास लोटारले जमिन “अचानक हलिन थालेपछि आफू अत्तालिएको” सम्झिए।
“अस्पतालबाट बिरामीहरू पनि बाहिर भागे, कम्पन निकै ठूलो थियो। मैले केही पर्खालहरू चर्किएको देखेँ,” अस्पतालका ग्राहक सेवा अधिकारी लोटारले एएफपीलाई भने।
प्रभावित क्षेत्रमा धेरैजसो होचा घरहरू भएका सहर र गाउँहरू रहेका छन्, जहाँ अग्ला भवनहरू निकै कम छन्।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी) ले सुरुमा भूकम्पपछि सुनामीको सम्भावित लहर आउन सक्ने चेतावनी दिँदै मानिसहरूलाई उच्च भूभागमा जान आग्रह गरेको थियो।
मानिसहरू पैदल, मोटरसाइकल, कार र पिकअप ट्रकको पछाडि चढेर सहरहरूबाट बाहिरिइरहेका लामा लाइनहरू देखिएका थिए।
“हामीले सुनामीको चेतावनी समाप्त गरेका छौँ, तर समुद्री सतहको अनुगमन निरन्तर जारी राख्नेछौँ,” बीएमकेजीका भूकम्प तथा सुनामी निर्देशक विजयान्तोले भने।
इन्डोनेसिया र यसका छिमेकी देशहरू प्रशान्त महासागरीय ‘रिङ अफ फायर’ मा अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प जाने गर्छ। यो क्षेत्र जापानदेखि दक्षिणपूर्वी एसिया हुँदै प्रशान्त बेसिनसम्म फैलिएको भूकम्पीय दृष्टिकोणले अत्यन्तै सक्रिय क्षेत्र हो।
यसअघि सन् १९९२ मा पनि फ्लोरेस टापुमा ७.७ म्याग्निच्युडकै भूकम्प गएको थियो, जसले सुनामी निम्त्याउँदा करिब २,५०० मानिसको मृत्यु भएको थियो।
इन्डोनेसियाको इतिहासमा सबैभन्दा घातक भूकम्प सन् २००४ मा सुमात्राको तटमा गएको ९.१ म्याग्निच्युडको भूकम्प थियो। त्यसले ल्याएको विनाशकारी सुनामीका कारण यस क्षेत्रभरि २ लाख २० हजार मानिसको ज्यान गएको थियो, जसमध्ये करिब १ लाख ७० हजार इन्डोनेसियाका मात्रै थिए।
त्यसैगरी सन् २०१८ मा लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनहरूका कारण ५५० भन्दा बढी मानिसको मृत्यु भएको थियो। सोही वर्ष सुलावेसी टापुको पालुमा गएको ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण ४,३०० भन्दा बढी मानिसको मृत्यु वा बेपत्ता भएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment