भाषा, साहित्य र संस्कृतिको संरक्षण साझा दायित्व : सभामुख अर्याल

डिसी नेपाल
३० साउन २०८३ १६:०५

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालले भाषा, साहित्य र संस्कृतिको संरक्षण राज्य, समाज र प्रत्येक पुस्ताको साझा दायित्व भएको बताएका छन्।

शनिबार सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले पुरस्कार सम्मानको प्रतीक मात्र नभई समाज र राष्ट्रका लागि व्यक्तिले गरेको योगदानको सार्वजनिक स्वीकृति भएको बताए।

उनले विशेषगरी नवप्रतिभाको पहिचान र प्रोत्साहनलाई महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने धारणा राखे।

‘राष्ट्र केवल भूगोलले मात्र बन्दैन। राष्ट्र भाषा, संस्कृति, इतिहास, साहित्य र सामूहिक स्मृतिले पनि जोडिएको हुन्छ,’ उनले भने, ‘हाम्रो संविधानले पनि नेपालको विविधताबीचको एकता तथा भाषा, संस्कृति र सम्पदाको संरक्षणलाई महत्वपूर्ण स्थान दिएको छ।’

सभामुख अर्यालले भाषा, साहित्य र संस्कृतिको संरक्षण कुनै एक संस्था वा व्यक्तिको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै राज्य, समाज र हरेक पुस्ताले यसलाई साझा दायित्वका रूपमा लिनुपर्ने बताए।

उनले विकास, प्रविधि र आर्थिक समृद्धि आवश्यक भए पनि त्यसले मुलुकको पहिचानलाई बलियो बनाउन नसके विकास अधुरो हुने धारणा व्यक्त गरे। आधुनिक प्रविधिको प्रयोग र विश्वसँग प्रतिस्पर्धा गर्ने क्षमता विकाससँगै मौलिक भाषा, साहित्य, कला र संस्कृतिप्रति गर्व गर्नुपर्नेमा उनले जोड दिए।

‘आज हामीले एउटा प्रतिभालाई सम्मान गर्दा अर्को एउटा पुस्तालाई प्रेरणा दिइरहेका हुन्छौं। एउटा बाल साहित्यकारलाई प्रोत्साहन गर्दा भविष्यका हजारौं बालमनमा सिर्जनाको बीउ रोपिरहेका हुन्छौं,’ उनले भने।

सभामुख अर्यालले पछिल्लो पुस्ता प्रविधिसँग अत्यन्त नजिक रहेको उल्लेख गर्दै सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता र विश्वव्यापी सञ्चारका कारण संसार झन् नजिकिएको बताए। यस्तो अवस्थामा विश्वसँग जोडिँदै गर्दा आफ्ना मौलिकता र सांस्कृतिक पहिचानको संरक्षण गर्नु थप चुनौतीपूर्ण र महत्वपूर्ण भएको उनको भनाइ थियो।

उनले भने, ‘आजको पुस्ता प्रविधिसँग अत्यन्त नजिक छ। सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता र विश्वव्यापी सञ्चारले संसारलाई अत्यन्त सानो बनाएको छ। यस्तो अवस्थामा हाम्रो चुनौती अझै ठूलो छ। विश्वसँग जोड्दिै गर्दा आफ्नो मौलिकता जोगाउनुपर्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *