जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–२ रिसाङलगायत क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारले सातवटा निर्णय गरेको छ। शनिबारको अविरल वर्षापछि रिसाङ क्षेत्रमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने केही नागरिक घाइते भएका छन् र करिब दुई सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
प्रदेश सरकारको निर्णयअनुसार बाढीपहिरोमा परी ज्यान गुमाउने व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
त्यस्तै, भेरी नगरपालिका–२ रिसाङलगायत प्रभावित क्षेत्रमा रहेका नागरिकलाई प्रदेश सरकारको तर्फबाट आवश्यक राहत सामग्री यथाशीघ्र उपलब्ध गराउने निर्णय गरिएको छ। यसअघि प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार त्रिपाल, ब्ल्याङ्केट, खाद्यान्न, टेन्टलगायत राहत सामग्री पठाइसकेको छ।
पहिरोबाट घर, पशुपन्छी तथा कृषि बालीमा भएको क्षतिको यथार्थ विवरण सम्बन्धित कृषि कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको समन्वयमा संकलन गर्ने र त्यसका आधारमा प्रदेशको सम्बन्धित मन्त्रालयले आवश्यक प्रबन्ध मिलाउने निर्णय पनि गरिएको छ।
पहिरोबाट विस्थापित भएका नागरिकको स्वास्थ्य उपचारलगायतका आवश्यक व्यवस्थापन सामाजिक विकास मन्त्रालयमार्फत गर्ने निर्णय भएको छ। जोखिममा रहेका तथा विस्थापित नागरिकलाई भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालयमा सुरक्षित रूपमा राखिएको छ।
विपद्सम्बन्धी प्रतिकार्यका लागि सम्बन्धित क्लस्टरको बैठक सम्बन्धित मन्त्रालयले गर्ने तथा राहत सामग्री वितरण गर्दा जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग समन्वय गर्ने निर्णय गरिएको छ। उक्त समन्वयको जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ।
यस्तै, जाजरकोटलगायत प्रदेशका सबै जिल्लामा अवरुद्ध भएका राजमार्ग तथा अन्य सडक खुलाउन भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने निर्णय गरिएको छ।
पूर्ण रूपमा क्षति भएका आवासको पुनर्निर्माणका लागि उपलब्ध गराइने अस्थायी आवास अनुदान यथाशीघ्र उपलब्ध गराउन पहल गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ।
पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको यथार्थ विवरण जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट माग गरी प्रदेश सरकारबाट बीमामार्फत दिइने राहत रकम उपलब्ध गराउने प्रक्रिया यथाशीघ्र अघि बढाउने निर्णय गरिएको छ।
अविरल वर्षा जारी रहेकाले रिसाङलगायत प्रभावित क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेको छ। सुरक्षा निकायले जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई निरन्तरता दिइरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment