देउवाको सनातन धर्मसम्बन्धी अभिव्यक्तिले नयाँ आशा जगायो : खुस्बु ओली

डिसी नेपाल
३१ साउन २०८३ १७:५५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने अभिव्यक्ति दिएको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने बताएकी छन्।

सामाजिक सञ्जालमा टिप्पणी गदै ओलीले देउवाको अभिव्यक्तिले नेपालका हिन्दू तथा सनातन धर्मावलम्बी परिवारमा नयाँ आशा र विश्वास जगाएको बताउँदै नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि स्वागत गर्नुपर्ने बताएकी छन्।

उनले भनेकी छन्, ‘देउवाज्यूले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने अधिवेशनको निर्णय र उहाँको व्यक्तिगत अभिव्यक्तिले गम्भीर राजनीतिक अर्थ बोकेको छ। उहाँको उक्त अभिव्यक्तिले नेपालका ८१ प्रतिशत हिन्दू तथा समग्र सनातनी परिवारमा नयाँ आशा र विश्वास जगाएको छ। नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि त्यसको स्वागत हुनुपर्छ।’

नेपाललाई स्पष्ट जनभावना र राष्ट्रिय बहसविना धर्मनिरपेक्ष बनाइएको विषयमा अझै गम्भीर प्रश्न उठिरहेको भन्दै ओलीले देशको पहिचान, जनभावना र ऐतिहासिक निरन्तरताबारे खुला राष्ट्रिय बहस गर्नुपर्ने बताइन्। देउवाको अभिव्यक्ति व्यक्तिगत आस्थामा मात्र सीमित नरही नेपालको मौलिक पहिचान र सनातन सभ्यताको सम्मानतर्फ राष्ट्रिय राजनीतिलाई अघि बढाउने आधार बन्नुपर्ने उनको भनाइ छ।

ओलीले आस्था व्यक्तिगत भए पनि राष्ट्रिय पहिचान साझा विषय भएको उल्लेख गर्दै नेपालको सनातन पहिचानबारे अब इमानदार राष्ट्रिय बहस आवश्यक रहेको बताउदै यसले नेपालको मौलिक पहिचान र सनातन सभ्यताको सम्मानतर्फ राष्ट्रिय राजनीतिको ‘कोर्स करेक्सन’को बाटो खोल्नुपर्ने बताएकी छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *