मुख्यमन्त्री खगराज भट्टसँग कुराकानी: ‘नयाँ बजेट छिट्टै ल्याउँछौं, दाग लाग्ने गरी काम गर्दिनँ’

डिसी नेपाल
१ भदौ २०८३ ७:१८

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम तीव्र रूपमा अघि बढेकाले प्रदेश लामो समय बजेटविहीन नरहने बताएका छन्। सीमित स्रोत-साधनको अधिकतम सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, सुशासन र जनताले प्रत्यक्ष महसुस गर्ने विकास योजनालाई प्राथमिकता दिइने उनको भनाइ छ।

आइतबार राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले सरकार बेथिति अन्त्य गर्न, टुक्रे योजना रोक्न र परिणाममुखी लगानी गर्न केन्द्रित रहने स्पष्ट पारे। पदमा रहँदा वा बिदा हुँदै गर्दा चरित्रमा कुनै दाग लाग्न नदिने र संघीयताको सबलीकरणमा जोड दिने प्रतिबद्धता उनले जनाए।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा प्रदेशको पाँचौँ मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले दिएको अन्तर्वार्ताको सम्पादित अंश:

अहिलेको सीमित समयलाई कसरी उपयोगी बनाउनुहुन्छ?

समय सीमित भए पनि दृढ सङ्कल्पका साथ काम गरे इतिहासमा सकारात्मक दृष्टान्त छाड्न सकिन्छ। सुशासन कायम गर्दै रूपान्तरणकारी र नवप्रवर्तनका काम गर्नु, गरिबी, बेरोजगारी र अभाव समाधान गर्नु सरकारको मुख्य कार्यभार हो। कुर्सीमा बसुञ्जेल र बाहिरिँदा चरित्रमा प्रश्न उठ्न नदिने र जनताले परिवर्तन बुझ्ने गरी काम गर्ने मेरो पहिलो सङ्कल्प हो।

तपाईंका मुख्य प्राथमिकता के-के हुन्?

सुदूरपश्चिमलाई राज्यको मूल विकासप्रवाहमा ल्याउन सङ्घ र स्थानीय तहसँग समन्वय गरेर योजना बनाइनेछ। बेथिति अन्त्य, स्रोतको अधिकतम सदुपयोग, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पारदर्शी सेवा प्रवाह नै हाम्रा प्राथमिकता हुन्। विगत आठ वर्षको कामको समालोचना र समीक्षा गर्दै यथार्थमा टेकेर सुधारका काम अघि बढाइनेछ।

बजेटविहीनताको अन्त्य र सरकार विस्तार कहिले हुन्छ?

सरकारलाई समयको निकै चाप छ। विपद् व्यवस्थापन, सेती प्रादेशिक अस्पतालको सुधार र डायलायसिस सेवाजस्ता विषयमा प्रारम्भिक कामहरू सुरु भइसकेका छन्। प्रत्येक १० दिनमा गरिएका निर्णयको प्रगति विवरण मागिनेछ। छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिएर नयाँ बजेट ल्याइनेछ।

प्रदेश सरकारको औचित्यमाथि उठेका प्रश्नलाई कसरी लिनुहुन्छ?

केही गरेन भन्नेहरूलाई के-के गर्नुपर्छ भनेर रचनात्मक सुझाव दिन मेरो आग्रह छ। सङ्घीयतापछि बनेका सडक, विद्यालय, सिँचाइ कुलो र पूर्वाधारले जनतालाई सीधा लाभ पुर्‍याएका छन्। सबै मिलेर काम गर्ने र प्रदेशको महत्त्व बुझाउने हो भने जनमानसमा सकारात्मक सन्देश जान्छ।

स्थायी राजधानी कार्यान्वयनको योजना के छ?

यसपटक बजेट विनियोजन गरेरै स्थायी राजधानी कार्यान्वयनमा लगिनेछ। प्रदेशसभाले गोदावरीलाई राजधानी तय गरिसकेकाले दुई तिहाइ बहुमतले फरक निर्णय नगरेसम्म पुरानै निर्णय कार्यान्वयनमा जान्छ। राजनीतिक दल र सरोकारवालाहरूलाई विश्वासमा लिएर अब चाँडै यो काम अघि बढाइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *