लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयले दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी दिएको हो ।
बैठकको सुरुवातमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने छन् ।
मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ । छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिने छन् । मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेश सभामा कुल ८३ जना प्रदेश सभा सदस्य छन् । सरकार सञ्चालनका लागि आवश्यक बहुमतका लागि ४२ जना सदस्यको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री आचार्यले आवश्यक बहुमतभन्दा बढी प्रदेश सभा सदस्यको समर्थन जुटाउने गरी तयारी गरेका छन् ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् । कांग्रेसले समर्थन फिर्ता लिएसँगै सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक अवस्था सिर्जना भएको हो ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न सत्ता पक्षका दलहरूसँगै अन्य प्रदेश सभा सदस्यहरूको समेत समर्थन जुटाउने प्रयास गर्दै आएका छन् । आजको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने वा नगर्ने टुंगो लाग्नेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment