लुम्बिनी प्रदेश सरकार: पार्टी निर्णय विपरीत जसपा सांसदहरूद्वारा मुख्यमन्त्री आचार्यलाई समर्थन

डिसी नेपाल
१ भदौ २०८३ १३:०५

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा सत्ता राजनीतिमा नयाँ हलचल पैदा भएको छ। आफ्नो पार्टी केन्द्रीय कमिटी वा नेतृत्वको निर्देशनलाई एकातिर पन्छाउँदै जसपाका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई नै समर्थन गर्ने स्पष्ट अडान लिएका छन्।

यस क्रममा सांसद भण्डारी लाल अहिर र आदेश अग्रवालले केन्द्रीय निर्णय विपरीत प्रदेश सरकारलाई साथ दिने सहमति जनाउँदै नेकपा एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन्। सरकार जोगाउन र विश्वासको मत सुरक्षित गर्नका लागि मुख्यमन्त्री आचार्यको पक्षमा रहेका सत्ता साझेदार दलका सांसदहरू नेकपा एमालेको संसदीय दलको कार्यालयमा भेला भएका छन्।

एमाले प्रमुख सचेतक यमुना रोकाका अनुसार सरकारलाई समर्थन गर्ने दलका सबै सांसदहरू एमाले कार्यालयमा एकत्र भई साझा रणनीतिका साथ एकसाथ प्रदेश सभा बैठकमा जाने तयारी गरेका छन्। पार्टीको केन्द्रीय निर्णय उल्लंघन गर्दै सांसदहरू भण्डारी लाल अहिर र आदेश अग्रवालसहित अन्य साना दलका सांसदहरू प्रस्तुत भएपछि मुख्यमन्त्री आचार्यको पक्षमा आवश्यक बहुमत जुटेको दाबी गरिएको छ।

छलफलमा सहभागी सांसदहरूबीच प्रदेश सभा बैठकमा मुख्यमन्त्रीको पक्षमा एकढिक्का भएर मतदान गर्ने सहमति बनेको छ। नेकपा एमालेसहित सरकारको पक्षमा उभिएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा लगायतका दलका सांसदहरू कार्यालयबाट सामूहिक रूपमा सदनतर्फ प्रस्थान गर्दैछन्।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाबाट पुनः विश्वासको मत लिनुपर्ने परिस्थिति बनेको हो। सरकारलाई टिकाउन र विश्वासको मत दिलाउनका लागि एमाले र सरकारमा सहभागी तथा समर्थक दलहरूबीच पहिलेदेखि नै तीव्र समन्वय र छलफल भइरहेको थियो।

केन्द्रीय गठबन्धन वा पार्टी शीर्ष नेतृत्वको निर्देशन विपरीत प्रदेशका सांसदहरूले स्थानीय आवश्यकता र राजनीतिक समीकरणलाई ध्यानमा राख्दै मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि मुख्यमन्त्री आचार्यको पद सुरक्षित हुने सम्भावना प्रबल बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *