नेपाल ३० अर्ब रुपैयाँको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुग्यो : ऊर्जामन्त्री श्रेष्ठ

डिसी नेपाल
१ भदौ २०८३ १४:२२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुगेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विद्युत् उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारको विकाससँगै नेपाल विद्युत् निर्यातको चरणमा प्रवेश गर्न सफल भएको बताएका हुन् ।

मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र वितरणको क्षमता विस्तार गर्दै लाखौँ घरधुरीमा विद्युत् सेवा पुर्‍याउन सफल हुनु नेपालको ऊर्जा क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार अहिले नेपालले झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्ने अवस्था निर्माण गरेको छ ।

‘यतिबेला झण्डै ३० अर्ब रुपैयाँको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुगेका छौँ,’ उनले भने, ‘उल्लेखित तथ्यांक केवल उपलब्धिका अंक मात्र होइनन्, यी नेपाल बदलिँदै गरेको प्रमाण पनि हुन् ।’

उनले चार दशकभन्दा लामो अवधिमा नेपाल विद्युत् प्राधिकरणले नेपालको ऊर्जा विकासमा निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको बताए । विद्युत् उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार निर्माणदेखि लाखौँ घरधुरीमा विद्युत् सेवा पुर्‍याउने र मुलुकलाई विद्युत् निर्यातको चरणमा प्रवेश गराउने यात्रामा प्राधिकरणको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा प्राधिकरणसँग सहकार्य गर्दै आएका निजी क्षेत्रका ऊर्जा उत्पादक, सहयोगी निकाय तथा अन्य सम्बन्धित पक्षको भूमिकासमेत प्रशंसनीय रहेको बताए । नेपालको ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धि कुनै एक व्यक्ति वा निकायको प्रयासबाट मात्र सम्भव नभएको भन्दै उनले वर्षौंदेखिको सामूहिक चासो, चिन्तन र निरन्तर प्रयासको परिणामस्वरूप अहिलेको अवस्था आएको उल्लेख गरे ।

उनले पछिल्लो समय सरकारको प्राथमिकता पनि परिवर्तन हुँदै गएको बताए । अब विद्युत् उत्पादन कति गर्ने भन्ने विषयमा मात्र केन्द्रित नभई उत्पादित विद्युत्बाट कति आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्न सकिन्छ भन्ने विषयलाई समेत प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठका अनुसार सरकारको प्राथमिकता विद्युत् उत्पादन बढाउनुसँगै आन्तरिक विद्युत् खपत वृद्धि गर्ने, प्रसारण तथा वितरण प्रणालीलाई सुदृढ बनाउने र बाह्य विद्युत् बजार विस्तार गर्ने दिशामा केन्द्रित छ ।

चालु आर्थिक वर्षमा सरकारले प्रसारण पूर्वाधारको विस्तार तथा सुधारलाई विशेष प्राथमिकता दिएको उनले बताए । विद्युत् उत्पादन बढ्दै गए पनि उच्च विद्युत् भार धान्न सक्ने प्रसारण प्रणाली कमजोर रहे त्यसको अपेक्षित लाभ लिन नसकिने उनले स्पष्ट पारे ।

त्यसैले रणनीतिक महत्वका प्रसारण लाइन, सबस्टेसन तथा ग्रिडको सुदृढीकरणसँगै अन्तरदेशीय प्रसारण पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने उनले बताए । यसका लागि सरकारले आवश्यक योजना निर्माण गरी कार्यान्वयनको चरणमा अघि बढिरहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

उनले अब नेपालको ऊर्जा क्षेत्रलाई उत्पादन विस्तारमा मात्र सीमित नराखी विद्युत्को अधिकतम आन्तरिक उपयोग, औद्योगिक विकास, आर्थिक गतिविधिको विस्तार र अन्तर्राष्ट्रिय बजारमा विद्युत् निर्यातमार्फत मुलुकको अर्थतन्त्रमा थप योगदान पुर्‍याउने दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *