कांग्रेसलाई सबै वर्ग अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्नुपर्छ: सङ्ग्रौला
काठमाडौं। नेपाली कांग्रेसकी सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अगाडि बढाउनुपर्ने बताएकी छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज धारणा राख्दै सहमहामन्त्री डा सङ्ग्रौलाले निर्वाचनको पराजय र विभाजनको जोखिमबाट पार्टीलाई जोगाउन इतिहासको चेत तथा देशप्रतिको जिम्मेवारी अनुभूत गरेर अघि बढ्नुपर्ने बताइन्। उनले संविधान र गणतन्त्रको रक्षा गर्ने कांग्रेसको विचारको गतिलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताइन्।
पार्टीको १५औँ महाधिवेशन घोषित कार्यतालिका अनुसार आगामी असोज १६ देखि १९ गतेभित्रै भव्य र व्यवस्थित रूपमा सम्पन्न हुने सहमहामन्त्री डा सङ्ग्रौलाको भनाइ थियो। उनले ‘जरा अभियान’ले आम नागरिकमा कांग्रेसप्रतिको आशा जीवितै रहेको बताइन्। नियमावली, निर्वाचन निर्देशिका र सदस्यता अद्यावधिकको काम समयमै सक्दै महाधिवेशन तयारी समिति, विधान मस्यौदा समिति तथा प्रचार–प्रसार लगायतका उपसमितिहरू अविलम्ब गठन गर्न उनले माग गरिन्।
प्रदेशमा देखिएको राजनीतिक अस्थिरता र सत्ताको खिचातानीले सङघीयतामाथि नै प्रश्न उठाएकाले यस विषयमा नेपाली कांग्रेस स्पष्टसँग अघि बढ्नुपर्ने सहमहामन्त्री डा सङ्ग्रौलाले उल्लेख गरिन्। विदेशमा रहेका लाखौँ नेपालीको मताधिकारको ग्यारेन्टी र जनसम्पर्क समितिको सुदृढीकरणका लागि स्पष्ट नीति पार्टीले ल्याउनुपर्ने उनको भनाइ थियो।
लामो समयदेखि तदर्थवादमा चलेका नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महिला सङ्घलगायतका भ्रातृ संस्थाको विधान समयानुकूल परिमार्जन गरी तत्काल महाधिवेशनको दिशामा लैजानुपर्ने सहमहामन्त्री डा सङ्ग्रौलाले बताइन्।
उनले कूटनीतिक पहल गरी ग्यास आयात र भण्डारण दोब्बर बढाउन, विद्युत् खपतमा लगाइएका अतिरिक्त कर हटाई इन्डक्सन चुलोमा सहुलियत दिन र मुख्य सिजनमा मल नपाएर समस्यामा परेका किसानलाई अनुदानको मल उपलब्ध गराउने विषयमा कांग्रेसले तत्काल सरकारसँग पहल गर्नुपर्ने बताइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment