मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध

डिसी नेपाल
१ भदौ २०८३ २२:४७

काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन मृत्यु भएका मतदाताको विवरण समयमै उपलब्ध गराउन अनुरोध गरेको छ।

आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मतदाता नामावलीमा नाम रहेका व्यक्तिको मृत्यु भएमा निजको एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिन अनुरोध गरेको हो।

प्राप्त सूचनाका आधारमा मृत्यु भएका व्यक्तिको नाम मतदाता नामावलीबाट अद्यावधिक गरिने आयोगले जनाएको छ।

विद्यमान मतदाता नामावलीलाई निरन्तर अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष सम्बन्धित रहेको आयोगको भनाइ छ। आयोगले यस कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा मृत्यु भएका मतदाताको विवरण उपलब्ध गराएर मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *