रास्वपाले सांसदको गतिविधि निगरानी गर्न बनायो गुगल फर्म

डिसी नेपाल
२ भदौ २०८३ १२:१२

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन गुगल फर्ममार्फत गतिविधिको विवरण राख्ने व्यवस्था गरेको छ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालका अनुसार संसद् बैठकमा अनुपस्थित हुनेदेखि बैठकमा ढिलो उपस्थित हुने तथा उपस्थित भएर बीचमै बाहिरिने सांसदले अनिवार्य रूपमा गुगल फर्म भर्नुपर्ने व्यवस्था गरिएको हो। सांसदले बैठकमा उपस्थित हुन नसक्नुको कारण खुलाउनुका साथै त्यसको प्रमाणसमेत फर्ममा अपलोड गर्नुपर्नेछ।

निर्धारित समयभन्दा ३० मिनेटभन्दा ढिलो बैठकमा उपस्थित हुने सांसदले पनि आफ्नो विवरण फर्ममा राख्नुपर्नेछ। त्यस्तै, बैठकमा उपस्थित भएर बीचमै छाड्नुपर्ने वा बैठक चलिरहेका बेला बाहिर गएर पुनः फर्किनुपर्ने अवस्थामा पनि गुगल फर्म भर्नुपर्ने व्यवस्था गरिएको छ।

रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार फर्ममा सांसदको नाम, निर्वाचन क्षेत्र, सम्पर्क नम्बर, बैठकमा अनुपस्थित हुनुको कारण तथा बैठक बीचमै छाड्नुपर्ने कारणलगायत विवरण माग गरिएको छ। सांसद बिरामी परेको अवस्थामा उपचार भइरहेको स्थानको विवरणसमेत उल्लेख गर्नुपर्नेछ।

निर्वाचन क्षेत्र जानुपर्ने अवस्थामा पनि सांसदले जाने र फर्किने समयसहितको तालिका बुझाउनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, औपचारिक निमन्त्रणा वा विदेशमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जानुपरेमा त्यससम्बन्धी सम्पूर्ण विवरण खुलाउनुपर्नेछ। विदेश जाने अवस्थामा आयोजक संस्था, कार्यक्रमको विवरण तथा सम्बन्धित निकायबाट प्राप्त अनुमति पत्रसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको बुर्लाकोटीले बताए।

रास्वपाका नेताहरूका अनुसार गुगल फर्म बनाउनुको मुख्य उद्देश्य सांसदहरूको हाजिरी मात्र हेर्नु नभई उनीहरूलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउनु हो। यसमार्फत बैठकमा अनुपस्थित हुनेदेखि उपस्थित भएर बीचमै बाहिरिने सांसदसम्मको विवरण व्यवस्थित रूपमा एकीकृत गरिनेछ।

मुख्य सचेतक बुर्लाकोटीका अनुसार संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउन चारवटा अवस्थामा ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ अनिवार्य गरिएको छ। कारणवश बैठकमा पूरै उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठक बीचमै छाड्नुपर्ने तथा बैठकको बीचमा बाहिर गएर पुनः फर्किनुपर्ने अवस्थामा सांसदले फाराम भर्नुपर्नेछ।

यससम्बन्धी निर्देशन रास्वपाका सांसदहरूलाई पठाइसकिएको छ। निर्देशनमा कारणवश संसद् बैठकमा उपस्थित हुन नसक्ने, ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, बैठक बीचमै छाड्नुपर्ने वा बैठक चलिरहेका बेला बाहिर गई फर्किनुपर्ने अवस्थामा अनिवार्य रूपमा संसद् बैठक अनुपस्थिति आवेदन फाराम पेश गर्न भनिएको छ।

यसअघि २६ साउनमा बसेको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक नै स्थगित भएको थियो। खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने क्रममा आवश्यक ६९ सदस्यको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको थियो। त्यसका कारण सरकारी विधेयक अगाडि बढाउने प्रक्रिया प्रभावित भएको थियो।

प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद छन्। सत्ता पक्षको सदनको बिजनेसलाई सहज रूपमा अघि बढाउने महत्वपूर्ण जिम्मेवारी रहेकाले आफ्ना सांसदहरूको उपस्थितिलाई व्यवस्थित र प्रभावकारी बनाउन रास्वपाले यस्तो व्यवस्था अघि बढाएको हो।

रास्वपाले सांसदहरूको संसद् उपस्थितिलाई सामान्य हाजिरीको विषयभन्दा पनि जिम्मेवारी र जवाफदेहितासँग जोड्न खोजेको जनाएको छ। त्यसैअनुसार सांसदहरूको संसद् गतिविधि व्यवस्थित रूपमा अभिलेख राख्न गुगल फर्म प्रयोगमा ल्याइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *