ईयूको एयर सेफ्टी लिस्टबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा : मन्त्री पौडेल
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले कोशी प्रदेशका विभिन्न स्थानीय तहसँगको सहकार्यमा पर्यटन पूर्वाधार विकासका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
उनका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोशी प्रदेश र प्रदेशअन्तर्गतका २९ वटा स्थानीय तहको सहकार्यमा ‘ट्रेल बेस टुरिजम डेभलपमेन्ट प्रोजेक्ट’ सञ्चालन गरिरहेको छ।
मन्त्री पौडेलले आर्थिक वर्ष २०८३÷८४ का लागि इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्यटन पूर्वाधार विकासका लागि १ करोड ५४ लाख रुपैयाँ र इलाम नगरपालिकाका लागि ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए।
त्यस्तै, कन्याम, फिक्कल र अन्तुडाँडा क्षेत्रमा हिल स्टेसन निर्माण, विकास तथा विस्तारका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए। यी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कुल चार करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री पौडेलले बताए।
उनले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोशी प्रदेश र कोशी प्रदेशका विभिन्न २९ वटा स्थानीय तहहरूको सहकार्यमा पर्यटन पूर्वाधार विकास आयोजना ट्रेल बेस टुरिजम डेभलपमेन्ट प्रोजेक्ट सञ्चालन गरिरहेको छ। उक्त परियोजनाअन्तर्गत आर्थिक वर्ष २०८३÷८४ का लागि समेत इलामको सूर्योदय नगरपालिकाको लागि एक करोड ५४ लाख रुपैयाँ र इलाम नगरपालिकाको लागि ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।’
‘त्यस्तैगरी कन्याम, फिक्कल, अन्तुडाँडा क्षेत्रमा हिल स्टेसन निर्माण, विकास र विस्तार प्रयोजनको लागि तीन करोड रुपैयाँ गरी यस आर्थिक वर्षको लागि कुल चार करोड ९५ लाख विनियोजन भएको निवेदन गर्न चाहन्छु,’ उनले भने।
मन्त्री पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को एयर सेफ्टी लिस्टबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको पनि बताए।
उनका अनुसार नेपाललाई उक्त सूचीबाट हटाउन उड्डयन सुरक्षा प्रणालीमा सुधारसँगै नियामकीय, क्षमता अभिवृद्धि, संस्थागत सुधार तथा कूटनीतिक पहललाई समानान्तर रूपमा अघि बढाइएको छ।
मन्त्री पौडेलले ईयूले सन् २०२३ सेप्टेम्बर ११ देखि १५ सम्म नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन गरेको जानकारी दिए। उक्त मूल्याङ्कनबाट देखिएका सुधारका विषयमा लामो समयसम्म आवश्यक कार्यान्वयन हुन नसकेको उनले बताए।
मन्त्री पौडेलले आफूहरू सरकारमा आएपछि ईयूले औंल्याएका सुधारका विषयमा आवश्यक विवरण तयार गरी ५ जुन २०२६ मा युरोपेली संघसमक्ष पेश गरिएको जानकारी दिए।
उनका अनुसार नेपालले पेश गरेको विवरणबारे ईयूले १२ जुन २०२६ मा जानकारी पठाएको थियो। उक्त जानकारीअनुसार नेपालले पेश गरेका सुधारात्मक कार्ययोजनाको समीक्षा गर्मी बिदापछि गरी त्यसको नतिजा उपलब्ध गराउने ईयूले जनाएको मन्त्री पौडेलले बताए।
उनले भने, ‘युरोपेली संघले २०२३ सेप्टेम्बर ११ देखि १५ सम्म नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन सम्पन्न गरेको थियो। तर उक्त मूल्याङ्कनको खुला निष्कर्षहरूलाई अहिलेसम्म कार्यान्वयन नभईकन बसेको थियो,’ उनले भने, ‘हामी आइसकेपछि ५ जुन २०२६ मा युरोपेली संघसमक्ष हामीले यसको विवरण पेश गरेका छौँ र संघले पनि १२ जुन २०२६ मा पठाएको जानकारीअनुसार ती सुधारात्मक कार्ययोजनाको समीक्षा उहाँहरूको भनाइअनुसार गर्मी बिदापछि गरेर हामीलाई उपलब्ध गराउँछौँ भन्नुभएको छ।’
मन्त्री पौडेलले नेपालको हवाई सुरक्षालाई थप सुदृढ बनाउँदै ईयूको एयर सेफ्टी लिस्टबाट नेपाललाई हटाउन आवश्यक सुधारका कामलाई निरन्तरता दिइरहेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment