रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आगामी भदौ ५ गते (शुक्रबार) बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक बिहान ११ बजे वनस्थलीस्थित घन्टी घरमा बस्न लागेको हो।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, पार्टीको संगठनात्मक व्यवस्थापन तथा विभिन्न पदमा मनोनयनलगायत विषयमा छलफल हुने जनाइएको छ।
बैठकको कार्यसूचीअनुसार स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुनेछ।
त्यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयनसम्बन्धी प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिनेछ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषयसमेत कार्यसूचीमा राखिएको छ।
बैठकमा केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ।
यसैगरी, पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामको मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment