कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने, एमालेसँग निर्णायक छलफल जारी

डिसी नेपाल
३ भदौ २०८३ ९:४९

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिनुअघि नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण, मन्त्रालय बाँडफाँट तथा आगामी सरकार सञ्चालनका विषयमा महत्त्वपूर्ण छलफल हुँदैछ। दुई दलबीचको छलफलपछि सत्ता समीकरण र विश्वासको मतका विषयमा अन्य दलहरूसँग पनि परामर्श गर्ने तयारी गरिएको छ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि यसअघि नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन्। आज बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल भएपछि विश्वासको मत लिने कार्यसूची तय भएको छ।

विश्वासको मत प्राप्त गरेसँगै सरकारलाई नियमित रूपमा सञ्चालन गर्ने बाटो खुल्नेछ। त्यसपश्चात सरकारका नीति तथा कार्यक्रम, विकास निर्माण तथा प्रदेशका समसामयिक समस्याहरूलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्ने मुख्यमन्त्री शाहीले बताएका छन्।

यसअघि एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत साउन ९ गते राजीनामा दिएपछि साउन १२ गते कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *