रास्वपाको बैठक लम्बिँदा प्रभावित भयो प्रतिनिधिसभाको बैठक
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक बैठक लम्बिएपछि प्रतिनिधिसभाको निर्धारित बैठक प्रभावित बन्न पुगेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टीका सांसद तथा मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल जारी राखिएको छ।
दिउँसो १ बजे बस्ने भनिएको संसद् बैठक रास्वपाको यही आन्तरिक बैठकका कारण समयमा सुरु हुन सकेको छैन। सिंहदरबारमा जारी दलको बैठकमा संसदीय दलका नेता प्रधानमन्त्री बालेन शाह भने सहभागी भएका छैनन्। आजको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। यसैगरी, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संसद् बैठकमा समयमै उपस्थित हुन रास्वपा संसदीय दलले यसअघि नै आफ्ना सांसदहरूलाई कडा निर्देशन जारी गरेको थियो। सोही निर्देशनअनुसार संसद् बैठकमा समयमै उपस्थित हुन नसक्ने सांसदहरूले अनिवार्य रूपमा गुगल फर्म भर्नुपर्ने व्यवस्था गरिएको छ। बैठकमा ढिलो उपस्थित हुँदा, अनुपस्थित हुँदा वा बीचमै बाहिरिनेसहितका सम्पूर्ण विवरणका लागि यो फर्म तयार पारिएको हो। यसमा अनुपस्थित हुनुको कारण र सम्बन्धित प्रमाणसमेत अपलोड गर्नुपर्ने हुन्छ।
गत साउन २६ गतेको प्रतिनिधिसभा बैठकमा आवश्यक गणपूरक संख्या (कोरम) नपुगेर बैठक नै स्थगित हुनुपरेको पृष्ठभूमिमा रास्वपाले यो कदम चालेको हो। संसद्मा रास्वपाका १८२ जना सांसद रहेकाले सदनको बिजनेसलाई सहज रूपमा अघि बढाउने मुख्य जिम्मेवारी सत्ता पक्षको हुन्छ, तर कोरम नपुग्दा सरकारी विधेयक अगाडि बढाउने प्रक्रिया समेत रोकिएको थियो। सांसदहरूको संसद् उपस्थितिलाई केवल हाजिरीका रूपमा नभई जिम्मेवारी र जवाफदेहितासँग जोड्न यो अभ्यास थालिएको नेताहरू बताउँछन्।
तर विडम्बना, आफ्नै दलका सांसदहरूलाई समयपालनाको कडा पाठ सिकाइरहेको रास्वपाको आफ्नै बैठक बुधबार लम्बिन पुगेको छ। यसले गर्दा पार्टीले बनाएको आन्तरिक नियम र निर्देशन स्वयं रास्वपाकै सांसदहरूलाई समेत लागू हुने अवस्था सिर्जना भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment