रास्वपा संसदीय दलको बैठक : सांसद र मन्त्रीबीच सवाल-जवाफ

डिसी नेपाल
३ भदौ २०८३ १४:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको संसदीय दलको बैठकमा सांसदहरूले निर्वाचन क्षेत्रका समस्या र सरकारको कामकारबाहीबारे प्रश्न उठाएका छन्।

सिंहदरबारस्थित दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा सांसदहरूले उठाएका जिज्ञासामा सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका छन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलका उपनेता गणेश पराजुलीले सांसदहरूले आफ्ना क्षेत्रका समस्या र जनगुनासाहरू स्पष्ट रूपमा राखेको जानकारी दिए।

सरकारको कामकारबाहीको समीक्षा गरिएको उक्त बैठकमा नीतिगत तथा कार्यगत कमजोरी, सेवा प्रवाहमा देखिएका अवरोध र जनतासम्म सरकारका कामको प्रचारप्रसार नपुग्नुको कारणबारे समेत गम्भीर छलफल भएको थियो।

त्यस्तै, बजारमा एलपी ग्यासको आपूर्ति र वितरणको अवस्थाबारे पनि प्रश्न उठेको थियो। गत वैशाखमा २२ लाख सिलिन्डर मात्र बजारमा गएकोमा साउन महिनामा बढेर ४० लाख सिलिन्डर पुग्दासमेत अभावको गुनासो किन आएको भन्ने विषयमा छलफल गर्दै यसको समाधानका उपायहरूमाथि विमर्श गरिएको छ।

यसैबीच, बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपा संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेको छ। संसद्मा सांसदहरूको उपस्थिति, सदनको मर्यादा, जनउत्तरदायित्व, विपक्षीको आवाज र कानुन निर्माण प्रक्रियालाई थप सशक्त बनाउने उद्देश्यले गठन गरिएको यस कार्यदललाई विधान संशोधनका लागि सात दिनको समयसीमा दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *