नाडाको स्वर्ण जयन्तीमा १८औँ अटो शो भदौ ९ देखि सञ्चालन हुने

डिसी नेपाल
४ भदौ २०८३ २०:५२

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडाको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको अटो शो आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ।

सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता तथा व्यवसायी मिलेर स्थापना गरेको सानो संगठन आज पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने चरणमा पुगेको हो।

भृकुटीमण्डपको करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। मेलामा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डको प्रत्यक्ष सहभागिता रहनेछ।

यसका साथै पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसम्बन्धी करिब ७० वटा कम्पनी सहभागी हुनेछन्। १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

पाँच दशकको अवधिमा नेपाली अटोमोबाइल क्षेत्रले उल्लेख्य फड्को मारेको नाडाले जनाएको छ। हाल नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। विगत पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारी तथा सम्बन्धित सामग्री आयात गरेको र यसबाट राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको तथ्यांक प्रस्तुत गरिएको छ।

त्यस्तै, देश हरित गतिशीलतातर्फ उन्मुख हुँदै जाँदा नेपालमा करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका छन्। ती सवारीसाधनका लागि करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जालसमेत तयार भइसकेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करण केवल संस्थाको उत्सव मात्र नभई सिङ्गो अटोमोबाइल उद्योगको योगदानको लेखाजोखा भएको बताए।

उनले भने, ‘पचास वर्ष भनेको कुनै उद्योगलाई ‘कति बिक्री ग¥यो’ भन्ने आधारमा होइन, ‘कति धानिरहेको छु’ भन्ने आधारमा नाप्न थाल्न पर्याप्त समय हो। भदौ ९ गते हामीले खोल्न लागेको प्रदर्शनी त्यही हो।’

नेपालको अटोमोबाइल क्षेत्रलाई आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व संकलन, हरित प्रविधिको विस्तार तथा समग्र आर्थिक चलायमानताको प्रमुख संवाहकका रूपमा विकास गर्न नाडाले निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *