दैजी–जोगबुढा सडकलाई वैकल्पिक राजमार्गका रूपमा विकास गर्छाै : मुख्यमन्त्री भट्ट
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भीमदत्त राजमार्गको विकल्पका रूपमा दैजी–जोगबुढा सडकलाई वैकल्पिक राजमार्गका रूपमा विकास गरिने बताएका छन्।
विभिन्न सडक सञ्जाललाई प्रदेश सरकारको बजेटको प्राथमिकतामा राख्न माग गर्दै डेलिगेसनसहित पुगेको कञ्चनपुर उद्योग वाणिज्य संघको टोलीसँगको भेटमा मुख्यमन्त्री भट्टले दैजी–जोगबुढा सडकलाई वैकल्पिक राजमार्गका रूपमा अघि बढाउने बताएका हुन्।
मुख्यमन्त्री भट्टले नीति तथा योजना आयोग गठन भएसँगै प्रदेशको बजेट निर्माण प्रक्रियाले गति लिने बताएका थिए। उद्योग वाणिज्य संघले लामो समयदेखि सडक सञ्जाललाई प्राथमिकतामा राखेर विकास गर्नुपर्ने माग गर्दै आएको उल्लेख गर्दै उहाँले प्रदेश सरकार उक्त मागप्रति सकारात्मक रहेको स्पष्ट पार्नुभयो।
‘सडक सञ्जालको विकास प्रदेशको प्राथमिकताको विषय हो। उद्योग वाणिज्य संघले लामो समयदेखि उठाउँदै आएको सडक मार्गलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्ने मागप्रति प्रदेश सरकार सकारात्मक छ,’ मुख्यमन्त्री भट्टले भने।
उनले प्रदेश सरकारका सबै मन्त्रीहरू जिम्मेवार ढङ्गले काम गरिरहेको बताउँदै आवश्यकताका आधारमा महत्वपूर्ण सडक तथा पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखेर अघि बढाइने जानकारी दिएका थिए।
कार्यक्रममा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा पर्यटनलगायत विभिन्न क्षेत्रमा ठूलो सम्भावना रहेको बताउँदै पर्यटकीय क्षेत्रहरूलाई आपसमा जोड्ने गरी सडक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
‘सुदूरपश्चिम प्रदेशमा समृद्धिका थुप्रै सम्भावनाहरू रहेका छन्। ती सबै सम्भावनाको प्रदेश सरकारले उजागर गर्नुपर्छ,’ पूर्वमुख्यमन्त्रीसमेत रहेका रावलले भनेका थिए, ‘प्रदेशको विकास, समृद्धि र सुशासन कायम गर्ने जिम्मेवारी यो सरकारको काँधमा आइपरेको छ।’
भेटघाटमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटको समेत सहभागिता रहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment