विपदमा सरकारको सम्पूर्ण स्रोतसाधन उद्धार र राहतमा लगाउन सांसद सिंहको आग्रह
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले विपद्को अवस्थामा सरकारका सम्पूर्ण स्रोतसाधन नागरिकको उद्धार, राहत र उपचारमा परिचालन गर्न आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले विपद्को समयमा सम्पूर्ण नागरिक सरकारको साथमा उभिनुपर्ने बताउँदै नागरिकको जीउधनको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकता हुनुपर्ने बताए।
उनले तराई, मधेस, पहाड र हिमालका सबै नेपालीलाई विपद्को समयमा एकजुट भएर सामना गर्न आह्वान गरे। विपद्का घटना दोहोरिइरहे पनि विगतका घटनाबाट पर्याप्त पाठ सिक्न नसकिएको उनको भनाइ थियो।
सिंहले मेलम्ची, रोशी खोला र सेती नदीमा भएका विपद्का घटना स्मरण गर्दै विपद्बाट पाठ सिकेर नागरिकको जीउधनको सुरक्षा र क्षति न्यूनीकरणमा राज्यले प्रभावकारी काम गर्नुपर्ने बताए। अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नु पनि राज्यको दायित्व भएको उनले उल्लेख गरे।
सरकारको आर्थिक तथा स्रोतसाधनको सीमितता रहेकाले राहत तथा उद्धारमा निजी क्षेत्रलाई पनि सहभागी हुन उनले आग्रह गरे। उनले देशका उद्योगी–व्यापारीलाई विपद्का बेला सरकार र नागरिकको साथमा उभिन आह्वान गरे।
सिंहले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। सरकारी अस्पतालमा उपचार सम्भव नभए काठमाडौं उपत्यकाका निजी अस्पताललाई समेत विपद्का घाइतेको निःशुल्क उपचार गर्न उनले आग्रह गरे।
त्यस्तै, विदेशमा रहेका गैरआवासीय नेपालीलाई पनि विपद्को समयमा सरकार र नेपाली नागरिकको साथमा उभिन सिंहले आग्रह गरे। सबै मिलेर विपद्बाट प्रभावित नागरिकको आँसु पुछ्ने काम गर्नुपर्ने उनको भनाइ थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment