विपद् प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न गैरसरकारी संस्थालाई समाज कल्याण परिषद्को आग्रह

डिसी नेपाल
१० भदौ २०८३ १६:३२

काठमाडौं। समाज कल्याण परिषद्ले रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित जिल्लामा तत्काल उद्धार, राहत तथा पुनस्र्थापनाका काममा जुट्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई आग्रह गरेको छ।

परिषद्ले बुधबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत बाढीका कारण विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको र जनजीवन प्रभावित भएको भन्दै विपद्को समयमा आवश्यक सहयोग उपलब्ध गराउन गैरसरकारी संस्थालाई अनुरोध गरेको हो।

परिषद्का अनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाका कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारको नीति तथा प्रचलित व्यवस्थाअनुसार सम्बन्धित स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्नुपर्नेछ।

साथै, गैरसरकारी संघसंस्थाले विपद् प्रभावित क्षेत्रमा सञ्चालन गर्ने उद्धार, राहत तथा पुनस्र्थापनासम्बन्धी गतिविधिको जानकारी समाज कल्याण परिषद्लाई समेत गराउन परिषद्ले आग्रह गरेको छ।

विपद्को समयमा सहयोगका लागि परिचालित हुने सामाजिक संघसंस्थालाई सहज रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै सरोकारवालालाई सहयोग गर्न पनि परिषद्ले अनुरोध गरेको छ।

परिषद्का कामु निर्देशक सञ्जयकुमार मल्लिकद्वारा जारी सूचनामा प्रभावित नागरिकको तत्काल आवश्यकता सम्बोधन गर्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *