घुससहित पक्राउ परेका दुई कर्मचारीविरुद्ध मुद्दा दायर

डिसी नेपाल
१० भदौ २०८३ १७:४८

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीविरुद्ध ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार कार्यालयकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीले बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी दिने क्रममा सेवाग्राहीलाई दुःख तथा हैरानी दिई घुस मागेको सूचना तथा उजुरी परेको थियो।

उजुरीका आधारमा अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले ढकाल र चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा उनीहरूकै आपसी मिलेमतो तथा योजनामा १३ वटा डिप बोरिङ तथा मोटर जडानका लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरिएको खुलेको अख्तियारले जनाएको छ।

कागजमा देखाउनका लागि मात्र उपभोक्ता समिति गठन गरी समितिले पूरा गर्नुपर्ने प्रक्रिया तथा आवश्यक कागजातसमेत उनीहरूले आफैं तयार गराएको अनुसन्धानबाट खुलेको छ। उपभोक्ता समितिको छाप तथा अध्यक्षको हस्ताक्षरसमेत गराई भुक्तानी दिने व्यवस्था मिलाएबापत सेवाग्राहीसँग घुसको रकम बार्गेनिङ गरी ७ लाख ५० हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारको दाबी छ।

आयोगले ढकाल र चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ। अख्तियारले दुवै जनाविरुद्ध ७ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवानाको सजाय मागदाबी गरेको छ।

आयोगले उनीहरूविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *