२० बुँदे आपत्कालीन घोषणा गर्दै प्रधानमन्त्री शाहले भने- नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले नुवाकोट, रसुवा र धादिङलगायतका बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार, उपचार र राहत कार्यका लागि राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन्। बिहीबार नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएपश्चात् प्रधानमन्त्री शाहले प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी र घाइतेको निःशुल्क उपचार नै सरकारको पहिलो प्राथमिकता भएको स्पष्ट पारेका हुन्।
स्थलगत अवलोकनका क्रममा प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र उद्धारकर्ताहरूसँग प्रत्यक्ष जानकारी लिएका प्रधानमन्त्री शाहले अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन्। उद्धार र खोजी कार्यलाई तीव्र बनाउन नेपाली सेनाका ४२ सय, नेपाल प्रहरीका ७ हजार २ सय ५० र सशस्त्र प्रहरी बलका १८ सय ४५ गरी कुल १३ हजार २ सय ९५ सुरक्षाकर्मी खटाइएको छ।
हवाई र स्थलमार्गबाट उद्धार जारी राखिएको बताउँदै उनले ६९ हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिसकिएको र निजी हेलिकप्टरलाई समेत सरकारी कमाण्डमा परिचालन गरिएको बताए।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तात्कालिक राहतका लागि सरकारले रसुवा र नुवाकोटमा १/१ करोड तथा धादिङमा ५० लाख रुपैयाँ परिचालन गरेको छ। ३५ सयभन्दा बढी प्रभावितहरूलाई स्थानीय विद्यालय तथा सार्वजनिक भवनमा अस्थायी आवासको व्यवस्था मिलाइएको उनको भनाइ छ।
रेडक्रस र स्काउट जस्ता स्वयंसेवी संस्थासँगको समन्वयमा ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको छ भने इन्धन अभाव हुन नदिन थप पेट्रोल, डिजल र हवाई इन्धन प्रभावित जिल्लाहरूमा पठाइएको छ।
प्रधानमन्त्री शाहले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल र पाटन अस्पताललगायतका स्वास्थ्य संस्थालाई आपत्कालीन शय्या तयार गरी ‘स्ट्यान्डबाइ’ राखिएको बताएका छन्। प्रभावित क्षेत्रमा फिल्ड अस्पतालसहित प्राविधिक मेडिकल टोली र आवश्यक औषधि पठाइएको उनले बताएका छन्।
यसैगरी, बाढीपहिरोका कारण अवरुद्ध भएका ७० भन्दा बढी दूरसञ्चार टावरहरू मर्मत गरी सेवा पुनःस्थापना गर्ने कार्य जारी रहेको प्रधानमन्त्री शाहको भनाइ छ। प्रभावित नागरिकका लागि नेपाल टेलिकम र एनसेलबाट निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा उपलब्ध गराइएको छ। अवरुद्ध सडक, पुल, विद्युत् र खानेपानी पूर्वाधारको शीघ्र पुनःसञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा विभागहरूलाई निर्देशन दिइएको छ।
प्रधानमन्त्री शाहले भारत, अमेरिका, ईयूलगायतका अन्तर्राष्ट्रिय साझेदारहरूसँग पनि विपद्पछिको पुनःस्थापनाका लागि समन्वय भइरहेको जानकारी दिएका छन्। भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै उनले उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सम्पूर्ण संयन्त्र मैदानमै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment