नेपाललाई १ मिलियन डलर आर्थिक सहायता दिने श्रीलंकाका राष्ट्रपतिको घोषणा
काठमाडौं । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकेले नेपालमा हाल जारी राहत तथा मानवीय सहायता कार्यका लागि १ मिलियन (१० लाख) अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउन आफ्नो सरकारलाई निर्देशन दिएका छन्। श्रीलङ्काको परराष्ट्र, वैदेशिक रोजगारी तथा पर्यटन मन्त्रालयले यसबारे जानकारी दिएको हो।
विनाशकारी बाढी र पहिरोका कारण जनधनको क्षति भोगिरहेको नेपाल र नेपाली जनताप्रति श्रीलङ्काको ऐक्यबद्धता प्रकट गर्दै यो सहयोग उपलब्ध गराउन लागिएको मन्त्रालयले जनाएको छ।
राष्ट्रपति दिसानायकेले यस प्राकृतिक विपद्का कारण भएको ठूलो मानवीय क्षति र नागरिकहरूले भोग्नुपरेको पीडाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। साथै, उनले श्रीलङ्का सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार, नेपाली जनता र विशेष गरी शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
श्रीलङ्का र नेपालबीचको निकट एवं लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र ऐक्यबद्धताको स्मरण गर्दै राष्ट्रपतिले सङ्कटको यस घडीमा श्रीलङ्का नेपाली जनताको साथमा दृढताका साथ उभिएको बताएका छन्।
उक्त आर्थिक सहयोग बाढी र पहिरोबाट प्रभावित समुदायहरूका लागि तत्काल आवश्यक राहत र मानवीय सहायता प्रदान गर्ने कार्यमा प्रयोग गरिनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment