भोटेकोशी बाढी: पोखरा ल्याइएका पहिचान हुन नसकेका शव डिएनए नमुना लिएर गाडिने
गण्डकी। रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीमा परि ज्यान गुमाएका र हालसम्म पहिचान हुन नसकेका शवहरूलाई कानुनी प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन (गाड्ने) गरिने भएको छ।
नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट उद्धार गरी पोखरा ल्याइएका कुल १०२ वटा शवमध्ये सोमबारसम्म १६ वटा शवको मात्र पहिचान भई आफन्तलाई बुझाइएको छ। बाढीले बगाएर विभिन्न जिल्ला पुर्याएका र कतिपय शव क्षतविक्षत भएकाले पहिचान गर्न निकै जटिल बनेको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार पहिचान हुन नसकेका शवहरूलाई ‘पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका’ अनुसार व्यवस्थापन गरिनेछ।
शव गाड्नुअघि डिएनए नमुना सङ्कलनसहित सम्पूर्ण कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरिनेछ, ताकि पछि डिएनए मेल खाएमा आफन्तलाई पुनः बुझाउन सकियोस्। यसका लागि आवश्यक स्थलको छनोट तथा प्राविधिक तयारी पूरा भइसकेको र अस्पतालमा रहेका सबै शवको परीक्षण (पोस्टमार्टम) सकिएको प्रजिअ गुरुङले जानकारी दिए।
हाल नवलपुरबाट ल्याइएका ४१, धादिङका २७, तनहुँका २३ र गोरखाका ११ गरी कुल १०२ वटा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा राखिएको छ।
अस्पताल परिसरमा सहायता कक्ष स्थापना गरी तस्बिर स्क्रिनमा देखाएर आफन्तलाई शव पहिचान गराउने प्रयास भइरहेको छ। साथै, आफन्तको खोजीमा पोखरा आएका परिवारजनका लागि जिल्ला प्रशासनले खाना र बासको व्यवस्थासमेत मिलाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment