भोटेकोशी बाढीः रसुवामा ६६ वटा शव फेला
रसुवा। भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका ६६ जनाको शव रसुवाका विभिन्न स्थानमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख अशोक थापाका अनुसार बेत्रावतीमा १०, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा छ वटा शव फेला परेका हुन्।
फेला परेका शवमध्ये हालसम्म छ वटाको मात्र पहिचान खुलेको छ। ती शवहरूलाई संकलन गरी सदरमुकाम धुन्चे ल्याउने तयारी भइरहेको र बाढीमा बेपत्ता भएका अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
विपद्मा परेका ६०० भन्दा बढी नागरिकको सफल उद्धार गरिएको छ। बाढीबाट विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बेत्रावती कैँदलटारका विस्थापित परिवारलाई काठमाडौँको तारकेश्वर नगरपालिकास्थित शान्ति टोलका विभिन्न स्थानमा राखिएको छ।
यस्तै, टिमुरे र स्याफ्रुबेँसीका विस्थापितलाई रानीवनस्थित पहेँलो गुम्बामा व्यवस्थापन गरिएको छ। अन्य प्रभावितहरूलाई धुन्चेस्थित टुर्कुछिलिङ गुम्बा र दक्षिणी रसुवाको माझगाउँस्थित भीमसेन तथा शिवालय प्राथमिक विद्यालयमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। कैँदलटार क्षेत्रका विस्थापित बालबालिकालाई एक गैरसरकारी संस्थामार्फत पोषणयुक्त खाना र दूध वितरण भइरहेको सहजकर्ता पाशु लामिछानेले जानकारी दिए।
यसैबिच, बाढीले सडक तथा पुलहरू बगाएपछि सडक सम्पर्क विच्छेद भएका रसुवाका दुर्गम बस्तीहरू थोमन, चिलिमे, गोल्जुङ, हाकु, डाँडागाउँ र ठूलोगाउँमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार लहरेपौवा, बेत्रावती, पहिराबेँसी, राम्चे, टिमुरेको खैदी, विर्दिङ, शेर्पा गाउँ, खाम्जिङ र स्याफ्रु क्षेत्रमा पनि हवाइ मार्गबाट खाद्यान्न ढुवानी भइरहेको छ।
बाढीका कारण विद्युत् सेवा अवरुद्ध हुँदा सञ्चारमा परेको असर कम गर्न रसुवा–नुवाकोट पर्यटन समाजले गाडीमा जेनेरेटर राखेर मोबाइल चार्ज गराउने घुम्ती सेवा सञ्चालन गरेको छ। संस्थाका अध्यक्ष बलराम न्यौपानेका अनुसार हालसम्म ५०० भन्दा बढी स्थानीयले यो सेवा लिइसकेका छन्।
जिल्लाका अधिकांश भागमा सञ्चार सम्पर्क पुनः सुरु भइसकेको छ भने विद्युत् आपूर्ति नियमित गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको बालाजुदेखि नुवाकोटको शिवपुरी, चौगडा, नर्जा, सरमथली, कालिकास्थान हुँदै धुन्चेसम्मको प्रसारण लाइन विस्तारको कामलाई तीव्र रूपमा अघि बढाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment