सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौं : शिक्षामन्त्री पोखरेल
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको सुझाव र अपनत्व समेटेर शिक्षा ऐन चाँडै अन्तिम रूप दिने बताएका छन्।
निजी विद्यालय सञ्चालकका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग मंगलबार भएको अन्तरक्रियामा मन्त्री पोखरेलले ऐन निर्माणका क्रममा प्राप्त राय–सुझावलाई समेटेर ऐनलाई परिपक्व बनाइने बताए।
उनले सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो बनाएर गुणस्तरीय तथा व्यवहारिक शिक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। शिक्षा क्षेत्रका सबै सरोकारवालालाई सरकारले साझेदारका रूपमा लिएको उनको भनाइ थियो।
मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शिक्षा ऐन तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप निर्माण गर्दा सरोकारवालाका सुझाव समेटिने बताए। राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष र व्यवहारिक बनाउनेतर्फ पनि ध्यान दिइने उनले बताए।
कार्यक्रममा निजी विद्यालय सञ्चालकका प्रतिनिधिले नयाँ शिक्षा ऐनले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने, पाठ्यक्रमलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने तथा प्रारम्भिक बाल विकास शिक्षालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।
मन्त्रालयले शिक्षा ऐन, राष्ट्रिय पाठ्यक्रम प्रारूप र पछिल्लो प्राकृतिक विपत्तिका विषयमा निजी विद्यालय सञ्चालकसँग छलफल गरेको हो। कार्यक्रममा प्याब्सन, एनप्याब्सन, हिसान, एपिनलगायत संस्थाका प्रतिनिधिको सहभागिता थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment