सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा जलसतहले नाघ्यो सतर्कता तह: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
१७ भदौ २०८३ ७:१४

काठमाडौं।  देशका विभिन्न भागमा निरन्तर भइरहेको वर्षाका कारण ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापन अनुसार सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा जलसतहले सतर्कताको सीमा नाघेको हो।

महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा जलसतह ७.६२ मिटर पुगेको छ, जहाँ ७.५ मिटरलाई सतर्कता तह मानिन्छ। हाल सो क्षेत्रमा पानीको बहाव स्थिर रहेको छ।

त्यसैगरी गोरखाको आरुघाटस्थित बुढीगण्डकी नदीमा जलसतह ३.६ मिटर पुगेको छ, जबकि त्यहाँको सतर्कता तह ३.५ मिटर तोकिएको छ। बुढीगण्डकीमा भने पानीको स्तर विस्तारै घट्दो क्रममा रहेको छ। उता डडेलधुराको पारीगाउँस्थित महाकाली नदीमा जलसतह ६.३७ मिटर पुगेर ५.८ मिटरको सतर्कता तह पार गरेको छ र त्यहाँ पानीको बहाव स्थिर रहेको छ।

नदीहरूमा पानीको सतह बढेर चेतावनीको तहमा पुगेकाले बाढी पूर्वानुमान महाशाखाले ती नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

बाढीको जोखिम कायमै रहने सम्भावना रहेकाले नदी किनारका क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानको पहिचान गरी बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *